आदिवासी दिवसमा नगर प्रमुख गोम्देन सम्मानित « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

आदिवासी दिवसमा नगर प्रमुख गोम्देन सम्मानित


यलम्वर टाइम्स
२४ श्रावण २०७९, मंगलवार ११:३३

अर्जुनधारा । २८ औं विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर आयोजित समारोहमा अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन लगायत निर्वाचित जनजातिहरुलाई सम्मान गरिएको छ ।

आदिवासी भवनमा आयोजित कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, वडा नं. ११ का अध्यक्ष खगेन्द्र इङ्नामलाई सम्मान गरिएको थियो ।

यस्तै वडा नं. १ का मदनकुमार लिमेल, वडा नं. ७ बाट निर्वाचित वडा सदस्य देवकुमार राई, वडा नं. २ बाट निर्वाचित सदस्य बलबहादुर समाल, वडा नं. ३ का चन्द्रमाया तामाङ, सुमनकुमारी राई, वडा नं. ४ का जीतबहादुर लिम्बू, वडा नं. ५ का चन्द्रकुमारी तामाङ, वडा नं. ६ का भिम राई, वडा नं. ८ का मनोज रैका मगर, वडा नं. ९ का बुद्धिमान लिम्बू, वडा नं. १० का रुपेश लिम्बू, वडा नं. ११ का पूर्णबहादुर राईलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुलाई प्रमुख अतिथि आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष भरतकुमार श्रेष्ठको बाहुल्यबाट सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा महासंघ अर्जुनधाराका उपाध्यक्ष कर्णबहादुर तामाङले आदिवासी जनजातिको लक्ष्य उद्देश्य र स्थानीय सरकारले गर्नुपर्ने विषयबारे कार्यपत्र पेश गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि महासंघ अध्यक्ष श्रेष्ठले आदिवासीका मुद्दामा सत्ताधारी पक्षहरु मौन रहनु दुःखदायी अवस्था भएको बताउँदै राज्य सत्ताबाट सम्मान गरिने आधारहरुसमेत नष्ट गरिएको हुँदा आईएलओ १६९ र लोकतन्त्रले दिएको अधिकार प्रदान गरिनुपर्ने बताए ।

महासंघ अर्जुनधारा अध्यक्ष जगतबहादुर रानाको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य बृख प्रधानले अधिकार सुनिश्चितताको लागि एकता आवश्यक भएको बताए ।

अर्का अतिथि निवर्तमान नगर प्रमुख हरिकुमार रानाले शिक्षामा उचित ध्यान नगएसम्म आदिवासी अधिकार यसरी नै बहस भएर जाने बताउँदै आदिवासी जनजातिका सन्ततिहरु शिक्षा र प्राविधिक ज्ञानमा निपूर्ण हुनका साथै एक भएर अगाडि बढे लक्ष्यमा पुगिने बताए ।

कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देनले आदिवासी जनजातिको अधिकारप्रति नगर सचेत रहेको जानकारी गराउँदै सहयोग र सद्भाव सदैव रहने बताए ।

भिमकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा विभिन्न जातीय संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने विभिन्न जातजातिका गीतहरु प्रस्तुत गरिएको थियो ।