असोज ७ बाट खुदुनाबारीमा ‘तेस्रो खुदुनाबारी गोल्डकप महिला फुटबल प्रतियोगिता’ हुँदै « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

असोज ७ बाट खुदुनाबारीमा ‘तेस्रो खुदुनाबारी गोल्डकप महिला फुटबल प्रतियोगिता’ हुँदै


यलम्वर टाइम्स
३ भाद्र २०७९, शुक्रबार ०९:२४

खुदुनाबारी । तेस्रो खुदुनाबारी गोल्डकप महिला फुटबल प्रतियोगिता अर्जुनधारा–३ स्थित खुदुनाबारीको प्रस्तावित प्राकृतिक रंगशालामा हुने भएको छ । पछिल्लो ३ वर्ष कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन ।

यसअघि खुदुनाबारी गोल्डकप प्रतियोगिता गर्दै आएको च्यारिटी युथ क्लबले यसपटक भने जुनतारा महिला क्लबसँगको सहकार्यमा प्रथम पटक महिला फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

महिला खेलाडीहरुको उत्पादनसँगै उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष हिमा मगरले बताइन् ।

शुक्रबार खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मगरले प्रतियोगिता ८ टिमको सहभागिता रहने जानकारी दिइन् ।

उनले प्रतियोगिता सम्पन्न गर्नका लागि अनुमानित १४ लाख ५६ हजार ६ सय ६६ रुपैयाँ लाग्ने बताइन् ।

उनले प्रतियोगिता सभ्य रुपमा सम्पन्न गर्नका लागि खेलप्रेमी, व्यापारी, व्यवसायी, स्थानीय लगायत सम्पूर्णमा सहयोगको आव्हान पनि गरिन् । गोल्डकप विजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित मेडल, ट्रफि प्राप्त गर्ने छन् । त्यस्तै उपविजेता हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल प्राप्त गर्ने छन् ।

कार्यक्रममा उपाध्यक्ष तथा खेल संयोजक याम खवासले आयोजकसँगै इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, उदयपुर, धनकुटा, सुनसरीका टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगिता असोज ७ गतेबाट सुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा अर्जुनधारा वडा नं. ३ का वडाध्यक्ष सीताराम भट्टराईले खेल क्षेत्रमा महिलाहरुको विकासका लागि गर्न लागिएको प्रतियोगिता प्रशंसनीय भएको बताए । उनले महिला फुटबल प्रतियोगिता सम्पन्न गर्न आफ्नो वडासँगै नगरपालिकाबाट पनि आफूले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा वडा नं. ३ कि सदस्य तथा नगर कार्यपालिका सदस्य चन्द्रा तामाङले महिलालाई चुल्होचौका र घरमै सीमित राखिने हुँदा उनीहरुले पनि केही गर्न सक्छन् भनेर प्रतियोगिता आयोजना गरिनु आफैमा सुखद भएको बताइन् । उनले खेलको माध्यमबाट महिलाहरुलाई उत्प्रेरणा, आत्मबल मिल्ने बताउँदै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता राखिन् ।

प्रतियोगिता मूल आयोजक समितिकी अध्यक्ष मगरको सभापतित्वमा भएको कार्यक्रममा अनुगमन समितका संयोजक शुक्रराज दुलाल ‘दिपक’, समितिका उपाध्यक्ष सूर्य इम्बुङ, तेजमाया राई ‘पार्वता’, सन्ध्या रिजाल, कञ्चन काफ्ले, ढुण्डीराज गौतम, साजन तामाङको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन समितका सचिव लीलाबल्लभ खतिवडाले गरेका थिए ।