पहिचान रक्षाको लागि नेफिन झापाको सातौं अधिवेशन भदौं ११ गते « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

पहिचान रक्षाको लागि नेफिन झापाको सातौं अधिवेशन भदौं ११ गते


यलम्वर टाइम्स
५ भाद्र २०७९, आईतवार १२:५२

बिर्तामोड । पहिचानको रक्षाको लागि लड्दै आएको नेपाल आदीवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) झापाले यही ११ गते सातौं अधिवेशनसँगै विभिन्न कार्यक्रम गर्ने भएको छ ।

संविधानले आदिवासीको अधिकार पूर्णतः नखुलाएको कारण पहिचान प्राप्तिमा ढिलो भएको हुँदा आउने अधिवेशनबाट जुझारु, ससक्त नेतृत्वको खाँचो भएको बिर्तामोडमा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिए ।

नेपालका आदिवासी जनजाति पनि लोकतन्त्रमा पनि खेलौनाकै रुपमा बाँच्नुपर्ने बाध्यता रहेको देखिन्छ । त्यसलाई चिर्न आदिवासी जनजाति जातीय संघसंगठन सक्रिय सहभागि रहने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

आगामी भदौ ११ गते बिर्तामोडको अतिथि सदनमा हुने अधिवेशनको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गर्ने भएको बताउँदै अधिवेशन पूर्णतामा सबैको साथ रहनुपर्ने बताउँदै तयारीमा जुट्दै गरेको श्रेष्ठले बताए ।

अधिवेशनमा नेफिन आवद्ध २४ वटा जातीय संघ–संगठनका तर्फबाट दुई–दुई जना प्रतिनिधिसहित पाँच हजार जनाको सहभागीता रहने बताइएको छ ।

अधिवेशन उद्घाटन अघि आदिवासी जनजातिको मौलिक नृत्य प्रदर्शन गरिने तथा साँस्कृतिक भेषभुषा र झाँकीसहितको र्यालीले बिर्तामोड बजार परिक्रमा गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा नेफिन उपाध्यक्ष पाण्डवलाल चौधरीले अरुको समयभन्दा फरक ढंगबाट अधिवेशनको आयोजना हुन लागेको जानकारी गराउँदै आउने नेतृत्व सशक्त हुनेमा दुईमत नरहने बताए ।

कार्यक्रममा आदिवासी अभियान्ता केवलराम राईले राष्ट्रिय राजनीतिक दलका कर्ताले आदिवासीलाई भोट बैंकको रुपमा हेरेको हुँदा त्यसलाई चिर्न झापाबाटै सशक्त कार्यक्रम अगाडि बढाउनुपर्ने बताए ।

सचिव बिरेन मेचेद्वारा सञ्चालित पत्रकार सम्मेलनमा कृष्णकुमार श्रेष्ठ लगायत गाउँ, नगरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।