धनीपूर्जा दिने काममा ढिलाई नगर « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

धनीपूर्जा दिने काममा ढिलाई नगर


यलम्वर टाइम्स
६ भाद्र २०७९, सोमबार ०८:१७

झापाका जनता राजनीतिक दल भनेपछि सर्वश्रेष्ठ संगठन ठान्ने गरेका छन् । जति पटक आम निर्वाचन हुन्छ या स्थानीय त्यति पटक दलहरुले धनीपूर्जाका कुरा ल्याउँदा त्यसलाई विश्वास गरेर दलहरुलाई आफ्नो मत जाहेर गर्दै आएका छन् । यसरी मत दिने काम लोकतन्त्रमा मात्र होइन, प्रजातन्त्रको उदय पश्चात पनि धनीपूर्जाकै आशामा मत प्रदान गर्दै आएका थिए । दललाई सर्वश्रेष्ठ मानेपछि एक दिन न एक दिन धनीपूर्जा पाइन्छ भनेर आशा राख्दै गर्दा कतिले आशा आशैमा संसार छाडेर गए । उनीहरुका सन्ततिहरु पनि हिजोआज त्यही आशामा तल्लिन देखिन्छन् ।

यसअघि स्थानीय निर्वाचन हुँदा दलहरुले लालपूर्जाको आशा देखाएर जनतासँग पटक–पटक मत मागेकै हो । तर, लालपूर्जा दिने प्रक्रियामा केही समस्या छ त्यसलाई निराकरण गरेर हामी दिनेछौं भनी पुनः जनतालाई विश्वास दिलाइयो । यो विश्वास अर्जुनधारामा मात्र होइन, झापाको १५ पालिकामा प्रदान गरियो । निर्वाचन भएको आज ४ महिना पूरा भएको छ । अघिल्लो स्थानीय सरकारले निस्सा दिने भन्दै रकम पनि संकलन गरेको थियो । यतिका समय बित्दा पनि धनीपूर्जाको कुरा नउठाउँदा स्थानीय जनता ठाउँ–ठाउँबाट आवाज उठाउन बाध्य भएका छन् । जनताको भावनालाई सम्बोधन गर्न निस्सा बाँड्दै लालपूर्जाको तयारीमा जुटेको भए केही आशा रहन्थ्यो । त्यसो नहुँदा जनता लालपूर्जा प्राप्त अभियानमा अगाडि बढेको देखिन्छ । त्यसलाई सहजता र सरलता प्रदान गर्न दलहरु जागरुक हुनुपर्ने आवश्यक छ ।

राजनीतिको अन्तिम केन्द्र बिन्दू भनेको जनता नै हुन् । जसरी दललाई जनताले विश्वास गर्छ दलहरुले पनि जनतालाई भरोसा मान्न र जनताको माग पूरा गर्न सके लोकतान्त्रिक गणतन्त्रको एउटा सुन्दर पाटो हुन जान्छ । त्यसतर्फ ध्यान केन्द्रीत हुन स्थानीय सरकार र राजनीतिक दल एक हुनुपर्ने देखिन्छ ।