परम्परागत संस्कृतिः कर्तव्य नभुलौं « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

परम्परागत संस्कृतिः कर्तव्य नभुलौं


यलम्वर टाइम्स
८ भाद्र २०७९, बुधबार ११:२५

परापूर्वदेखि चलिआएको रीतिरिवाज एवम् परम्पराको जगेर्ना गर्नु हामी सबैको समान दायित्व हुन आउँछ । तर आजकल आधुनिक बन्ने होडबाजी चलेकै कारण परम्परालाई एकातिर छोडी नयाँ चालचलनलाई बढावा दिएको कुरा पनि नकार्न भने सकिन्न । समाजमा नकारात्मक प्रभाव पार्ने कुरीतिलाई जरैदेखि निमोठी सु–संस्कृतिलाई बचाइ राख्नु हामी सबैको साझा दायित्व हो । तर आजभोलि चाडवाड मनाउने कुरामा फजुल खर्च र खोक्रो आडम्बरीलाई बढावा दिने चलन बढेको देखिन्छ यसले हाम्रो समाजलाई कतातिर लैजादैछ भन्ने तर्फ हामी सबैको ध्यानाकर्षण हुनु अति जरुरी छ । जुनसुकै चाडपर्व, संस्कार, संस्कृति तथा रीतिरिवाजको आफनै महत्व हुन्छ त्यसको सकारात्मक पक्षलाई जोगाइ नकारात्मक पक्षलाई परिमार्जन गर्दै जानु बुद्धिमानी हुन्छ ।

नजिकै आउँदै गरेको चाड हरितालिका तीजको महिमा धार्मिक र सामाजिक दुबै दृष्टिले महत्वपूर्ण मानिन्छ । धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने कुरा पार्वतीलाई मन नपरेपछि आफूले चाहेको वर पाउन एकान्त जङ्गलमा गएर शिवजीको तपस्या गरिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाएपछि फेरि उनले शिवलाई स्मरण गरी पानीसम्म ग्रहण नगरी निराहार ब्रत बसिन् । तत्पश्चात पार्वतीको कठोर तपस्याको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए त्यसै आशीर्वादको फलस्वरूप शिव–पार्वती बीच विवाह सम्पन्न हुनपुग्यो भन्ने धार्मिक विश्वास रहिआएको छ । उक्त दिन भाद्र शुक्ल तृतीयाको दिन भएको र सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेको भन्ने जनविश्वास छ । धार्मिक महत्व अनुसार तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवम् सद्भाव बढ्ने विश्वास गरिन्छ । तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीजका दिन महिलाले लगाउने रातो सारि सुख, समृद्धि एवम् साहसको प्रतिक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक मानिएको हुँदा तीजमा दिदीबहिनीहरुले प्रयोग गर्ने यस्तो लत्ताकपडा साथै गहना गुरियाको पनि विशेष महत्व भएको बुझिन्छ ।

परिवारमा आपसी प्रेम बढाउने यो पर्वले परिवार र आफन्तको घरमा चेलीबेटी भेला भै सुख, दुःख साटासाट गर्ने वातावरण सिर्जना हुन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ ।

त्यसैगरी सामाजिक महत्वलाई निहाल्दा यो पर्व बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने हुदा परिवारबाट टाढा रहेका चेलीबेटीले पनि आफ्नो माइती घर आउने फुर्सद (अवसर) मिल्ने कुराको बुझाइ छ । परिवारमा आपसी प्रेम बढाउने यो पर्वले परिवार र आफन्तको घरमा चेलीबेटी भेला भै सुख, दुःख साटासाट गर्ने वातावरण सिर्जना हुन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनी बीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ भन्ने गरिन्छ ।

तर केही बर्ष यता चाडपर्वको महत्त्व,मुल्य मान्यतालाई एकातिर भुलेर फजुल खर्च गरि तीज मनाउने चलन समाज बढ्दो छ । अनावश्यक बढ्दो आधुनिकताको प्रभावले संस्कार, संस्कृति परम्परालाई ओझेलमा पारेको कुरा वर्तमान परिवेशमा चाडपर्व मनाउने चाल चलन बाट प्रष्ट झल्किन्छ । प्रायः जसो जुनसुकै पर्वमा पनि आवश्यकताभन्दा माथि उठेर मनाउने प्रवृत्ति हावी भएको हुँदा अहिले समाजमा एक आपसमा देखासिखीको प्रतिस्पर्धा अचाक्ली नै बढेको देखिन्छ । जसको परिणाम अनावश्यक रुप खर्चमा वृद्धि हुनु र ऋणभार बहन गर्नु बाहेक अरु केही उपलब्धि देखिन्न । सानोभन्दा सानो कार्यक्रम गर्नुपर्दा पनि आफ्नो छरछिमेकी आफन्तलाई देखाउनको लागि क्षमताभन्दा माथि उठेर गर्नाले बिकृती फैलिएको कुरा नकार्न सकिन्न । यस्तो किसिमको मानसिकतालाई बढावा दिँदै जाने हो भने भविष्यमा हामीले कस्तो समाजको निर्माण गर्न सकुला ? बेलैमा सचेत हुन जरुरी देखिन्छ । यस्तो खाले ढोङ्ग प्रति हामीले बेलैमा संयमता नपनाए आगामी पिढीलाई चाडपर्वको मूल्य मान्यताको महत्व बुझाउनुको सट्टा आधुनिकताको नाममा गलत संस्कार दियौभन्दा पक्कै पनि फरक नपर्ला ।

हामीले मनाउँदै आएका हरेक चाडपर्व वा संकृतिहरुको आफ्नै मूल्यमान्यता र महत्व छन् जसको उचित शिक्षा हामीले हाम्रा सन्ततिलाई दिन सक्यौ भने मात्रै ती चाडपर्वको महत्व अनुसारको जगेर्ना हुन सक्छ अन्यथा तिनीहरूको महत्व लोप हँुदै गएर अर्थहिन संस्कारले जन्म लिन्छ । समाजमा आफुलाई धनवान् वा माथिल्लो ओहदाको देखाउन अनावश्यक भड्किलो शैलीले पर्व मनाउँदा यसको मूल्यमान्यता र संस्कार एकातिर छोडिदै जान्छ भने तडकभडकको रमाइलो मात्रै अर्कोतिर हुन्छ । फलस्वरूप गलत संस्कारले समाज बिरोलिइरहन्छ । पर्व मनाउने नाममा आजकल सामूहिक रुपमा आयोजना गरिएका कतिपय कार्यक्रमहरुले सडक नै अवरुद्ध गरेर यातायात समेत कठिनाइ पैदा गर्दा पैदल यात्रीले सास्ती खेप्ने गरेको कयौ उदाहरणहरु छन् । चाडपर्वका मनाउने कारण अरुलाई दुःख दिनु राम्रो अभ्यास हो त ? यस्ता धेरै खाले आधुनिकता हावी हुँदा हामीले नै हाम्रो समाजमा कुरीतिलाई जन्म दिइरहेका छौ । यस्तो अभ्यास आजैबाट र आफैबाट रोक्न सकेमात्रै परम्परागत संस्कारको जगेर्ना गर्न सकारात्मक पहल पुग्ने कुरामा दुई मत हुँदैन ।

बिगतका केही बर्ष कोभिडको महामारी फैलिनाले समाजमा खुलेर मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन सकिरहेको छैनौं । बर्सेनि मनाउने चाडपर्वमा पनि यसले धेरै अप्ठ्यारा खडा गरेको छ नै । यद्यपि हामीले अपनाएका सतर्कताका कारण हाम्रो परिवार, समाज लगायत सिङ्गो देशमा सुरक्षा दिन सकिन्छ । त्यसैले यस्तो महामारी पूर्णरूपमा निर्मुल नहुन्जेल हामीले हेलचेक्र्याइ गर्नुहुन्न । बिगतमा चाडपर्व मनाउने क्रममा टाढा परिवार एकै थलोमा भेला भई रमाइलो गर्दा कतिपय परिवारमा संक्रमण फैलन गई आफन्त गुमाउनु परेको तितो उदाहरणहरुले हामी दुखिरहेकै छौ । कतै बालबालिका कतै वृद्ध अवस्थाका हाम्रा अग्रज गुमाउनुको पिडाबाट हाम्रो समाजको आँखा ओभानो थिएन । केही समय कोभिडको संक्रमण धेरै न्यून देखिएतापनि हाल अलि बढेको कुरा सुनिन्दैछ त्यसकारण आगामी दिनमा हाम्रो घर आँगनमा आएको चाडपर्व मनाउँदा सतर्कता उत्तिकै अपनाउनु पर्ने आवश्यकता देखिदैछ ।

हाम्रो समाजलाई सुरक्षित, सुन्दर, शान्त र अनुशासित बनाउने जिम्मा हाम्रो नै हो त्यसैले मर्यादित ढंगले तीजलाइ स्वागत गर्न सके हामी सबै सुखी र खुशी रहनेछौ । हामी हरेकले पालना गरेको अनुशासन र मर्यादाबाट नै सुन्दर र सुरक्षित समाजको निर्माण गर्न सकिन्छ । लेखक ढुंगाना अर्जुनधारा–७ झापा निवासी हुन् ।