प्रतिनिधि सभा र प्रदेश सभामा जनमुक्तिले देशव्यापी उम्मेद्वारी दिने « Yalambar Times
८ बैशाख २०८१, शनिबार

प्रतिनिधि सभा र प्रदेश सभामा जनमुक्तिले देशव्यापी उम्मेद्वारी दिने


यलम्वर टाइम्स
१२ भाद्र २०७९, आईतवार ०९:२७

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष केपी पालुङ्वाले मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा पार्टीले देशव्यापी उम्मेद्वारी दिने बताएका छन् ।

शनिबार अर्जुनधाराको शनिश्चरे बजारमा आयोजित अन्तरक्रिया तथा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष पालुङ्वाले आफूहरुले जित्ने प्रशस्तै आधारहरु भएको बताउँदै देशव्यापी उम्मेद्वारी दिने बताएका हुन् ।

आउदो चुनावको तयारीमा पार्टी रहेको सुनाउँदै प्रदेश, जिल्ला र स्थानीय पालिकाका नेता कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे ।

‘प्रतिनिधि र प्रदेश सभाको चुनावमा हामी गठबन्धन गर्दैनौं’ अध्यक्ष पालुङ्वाले भने, ‘तर आवश्यकता अनुसार कुनै–कुनै ठाउँमा तालमेल गर्न सक्नेछौं ।’

प्रदेश, जिल्ला र नगर कमिटिका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभामा आफ्नो सांसद प्रवेश गराइछाड्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष पालुङ्वाले पार्टीको सक्रियता र कार्यकर्तासँगको भेटघाटका लागि केन्द्रीय समिति देश दौडामा लागेको बताउँदै अब प्रदेशका अध्यक्ष लगायत नेताहरु घरमा नभई १४ जिल्ला नै निस्कन निर्देशन दिए ।

कार्यकर्ता भेटघाटमा राष्ट्रिय जनमुक्ति पार्टी एक कदम अगाडि बढिसकेको बताउँदै अबको विकल्पको रुपमा अघि बढेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि पार्टी उपाध्यक्ष विदु कायस्थाले सत्तामा रहेका ठूला दलहरु आलोपालो गर्दै देशलाई खोक्रो बनाएको बताए ।

देशका लागि घातक सिद्ध असमान सन्धी सम्झौताहरु पटक–पटक गर्दै देशलाई खोक्रो बनाउँदै आएको आरोप लगाउँदै अब त्यसको प्रतिकारमा जनमुक्ति आएको बताए ।

उपाध्यक्ष कायस्थाले नेपालीपन र नेपाली माटो सुहाउँदो विचार जनमुक्तिमा मात्र रहेको बताउँदै जनमुक्तिलाई जनताले विश्वास गर्न आग्रह गरे ।

उनले पछिल्लो समय पार्टीले ‘नेपाल बचाऔं, नेपाल बनाऔं’ भन्ने अभियान लिएको बताउँदै अब देश बनाउने जिम्मा हामी सबैको भएको बताए ।

कार्यक्रममा उपमहासचिव विष्णु थाङ्देन, सचिव गजेन्द्र आङबोहाङले राष्ट्रिय जनमुक्ति अन्य पार्टीहरुभन्दा फरक भएको बताउँदै देशलाई नयाँ दिशा दिनका लागि जनमुक्तिको उदय भएको बताए ।

पार्टी नगर अध्यक्ष राज खम्बूको सभापतित्वमा भएको कार्यक्रममा केन्दीय सदस्य मीना पन्धाक, शिवप्रसाद आचार्य, प्रदेश १ अध्यक्ष पर्शुरा मगर, उपाध्यक्ष तिलसिंह माङ्मु, कृष्ण थेवे, पार्वता माङ्मु, पदम कन्दङ्वा, मनिला इङ्नाम लगायतको आतिथ्य रहेको थियो ।

तेजबहादुर योङ्हाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत झलक याम्फुले गरेका थिए ।