पाँच टि–२० खेलको सिरिज नेपाललाई « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

पाँच टि–२० खेलको सिरिज नेपाललाई


यलम्वर टाइम्स
१५ भाद्र २०७९, बुधबार ०६:३३

झापा । मंगलबार केन्याको नैरोबीको जिमखाना स्टेडियममा भएको पाँचौ टि–२० आईमा घरेलु टोली केन्यालाई ३१ रनले हराउँदै नेपालले पाँच खेलको सिरिज आफ्नो नाममा पार्न सफल भएको छ ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक र उपकप्तान रोहित पौडेलको आक्रामक ब्याटिङमा नेपालले पाँचौं तथा अन्तिम टि२० आई खेलमा केन्यालाई पराजित गर्दै सिरिज आफ्नो बनाएको हो ।

नेपालले पाँच टि२० आई खेलको सिरिज ३–२ ले जित्न सफल भएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाउँदै केन्यालाई विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि पूर्व कप्तान मल्लले ४४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन जोड्दै अर्धशतकीय योगदान दिए ।

आक्रमक ब्याटिङ गरेका रोहित पौडेलले २५ बलमा ७ चौकासहित ४७ रन जोड्दै आउट भए ।

ओपनर अर्जुन साउद २१ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा आउट भए ।

पहिलो विकेटका लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लले ८ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

अर्जुन शेम न्गोचेको आठौं ओभरको अन्तिम बलमा विकेटकिपर इफरान करिमबाट स्टम्पिङ आउट भए ।

तेस्रो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरी १७ बलमा ३ चौकासहित २२ रनमा आउट भए । पवन १ रन, विवेक यादव २ र आदिल अन्सारी ४ रनमा आउट भए ।

केन्याका स्पिनर विरज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बो दुई दुई विकेट लिए ।

जवाफि ब्याटिङमा उत्रिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनाउन सक्यो ।

केन्याका नेहेम्याह ओधियाम्बोले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

कप्तान शेम न्गोचे १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा अविजित रहे ।

नेल्सन ५ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहे । विकेटकिपर इफरान करिम २८ र कोलिन्स ओबुयाले २३ रन बनाए ।

नेपालका सन्दीप लामिछाने र बसिर अहमदले समान दुई दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए ।