हात्तीको आहार सामुदायिक वनभित्र लगाउन जरुरी « Yalambar Times
१८ आश्विन २०७९, मंगलवार

हात्तीको आहार सामुदायिक वनभित्र लगाउन जरुरी


यलम्वर टाइम्स
१९ भाद्र २०७९, आईतवार ११:०८

प्राणीभित्रको अग्लो र सचेत जनावरको रुपमा हात्तीलाई संसारभरि हेरिन्छ । सनातनी हिन्दू शास्त्रमा हात्तीलाई भगवान गणेशको रुपमा पुकारिन्छ । हिन्दू बाहेक अन्य धर्मवालम्बीहरुले जीवित प्राणीमध्ये हात्तीलाई ठूलो र अग्लो जनावरको रुपमा लिइन्छ । हात्ती केही देशले साधनको रुपमा प्रयोग गरेका छन् भने केही देशले मनोरञ्जन र जंगली जनावरको रुपमा हरेको पाइन्छ । मानिसको उत्पत्तिसँगै हात्तीको पनि उत्पत्ति भएको भनाई भइरहँदा मानिसलाई चाहिने गाँस, बास, कपास जस्तै जंगलभित्र रैथाने तरिकाले बस्ने जनावरमध्ये हात्तीलाई पनि आहारको व्यवस्था हुन जरुरी देखिन्छ ।

नेपालमा हात्तीको संख्या कम भए पनि भारत क्षेत्रमा पानीको बहाव बढेपछि त्यहाँका रैथाने हात्तीहरु पूर्वी नाका हुँदै झापा, मोरङ र सुनसरीको जंगलमा लुक्ने गर्छन् । शरीरको माया सबैलाई भए जस्तै हात्तीले पनि आफ्नो सन्ततिको माया भएकै कारण बर्खा लाग्नुअघि नेपाल छिर्नु स्वाभाविक ठानिन्छ । यो अहिलेको प्रक्रिया होइन, पुस्तौंदेखि चल्दै आएको हुँदा हिजोआज भारतीय हात्ती नेपालमा हुनु र जंगलभित्र रहेका हात्तीहरु बाहिर आउनु स्वाभाविक देखिन्छ । यी सबै समस्या जंगलभित्र हात्तीले खानेकुरा पर्याप्त नहुनुको कारण नै हो भन्ने भनाई वन्यजन्तु आरक्षण केन्द्रबाट उठ्दै आएको छ ।

जंगलभित्र रमाउने हात्तीहरु बाहिर निस्कदा आहारको खोजीमा हुन्छन् । जंगलमा पाइने आहारहरु मासिदै जाँदा गाउँ बस्तीमा मानिसहरुले लगाएका अन्नबाली, तुलफुल र कोला खानका लागि पनि जंगल बाहिर आउनु स्वाभाविक हो । जब सामुदायिक वनले जंगल हाताभित्र हात्ती रमाउने क्षेत्रमा हात्तीले खाने आहारहरु रोप्न छाडियो भने हात्ती आउने ठाउँ नै गाउँ बस्तीमा हो । आसामका केही जंगलहरुमा हात्तीले खाने तुलफुलहरु लगाइएको पाइन्छ । ति जंगलमा पानीको सतह (ब्रम्हपुत्र) बढेपछि हात्तीहरु बाहिरिने क्रममा नेपाल भित्रन्छन् । पूर्वी नाका बाहुनडाँगी हुँदै बुद्धशान्ति, अर्जुनधाराबाट कोशी टप्पुसम्म पुग्ने हुँदा यी क्षेत्रका सामुदायिक वनभित्र हात्तीले खाने तुलफुल बोट विरुवा लगाउन जरुरी छ ।

जिल्ला वन कार्यालय लगायत वन संरक्षणमा जुटेका संघसंस्थाले वनमा हात्तीका लागि आवश्यक आहार लगाउन आव्हान गरे पनि कतिपय सामुदायिक वनले कार्यान्वयन गर्न सकिरहेका छैनन् । त्यसैले पनि हात्तीहरु जंगलबाट गाउँ पसेको देखिन्छ । गाउँ पसेपछि मानवसँगको घुम्साघुम्सी हुने र मानव क्षतिसँगै धनमालको पनि नोक्सानी हुने हुँदा त्यसलाई मध्यनजर गर्दै सामुदायिक वन समूहले जंगलमा हात्तीका लागि आवश्यक आहार रोपण गर्नमा जरुरी देखिन्छ । जब जंगलभित्रका घाँसपात घरपालुवा जनावरलाई ल्याए जस्तै हात्तीका लागि आहारको संरक्षण गर्न सकिएन भने जंगल छेउछाउका वस्तीहरुलाई हात्तीले दुःख दिन थाल्छ नै जसले गर्दा मानवलाई पनि क्षति पुर्याउँछ । त्यसतर्फ सामुदायिक वन, जिल्ला वन महासंघ र सरकारी निकायको ध्यान जान जरुरी छ ।