केन्यामा भएको एक दिवसीय अभ्यास खेलमा नेपालको क्लिनस्विप « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

केन्यामा भएको एक दिवसीय अभ्यास खेलमा नेपालको क्लिनस्विप


यलम्वर टाइम्स
२१ भाद्र २०७९, मंगलवार ०७:४३

 

 

झापा । केन्याको राजधानी नैरोबीको जिमखाना स्टेडियममा भएको तीन खेलको एक दिवसीय अभ्यास खेलको सिरिजमा नेपालले क्लिनस्विप गरेको छ ।

नेपालले अन्तिम खेलमा घरेलु टोली केन्यालाई ६ विकेटले हराउँदै सिरिजमा क्लिनस्विप गरेको हो ।

जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जितका लागि २ रन चाहिएको अवस्थामा नेपालका कप्तान रोहित पौडेलले लुकासको बलमा चौका हान्दै विजयी बनाएका थिए ।

कप्तान पौडेल ४६ बलमा ४ चौकासहित ४६ रनमा र बसिर अहमद ४९ बलमा ७ चौकासहित ५२ रनमा अविजित रहे ।

पाँचौं विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ९५ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए ।

नेपालको जीतमा नेपालका दुवै ओपनरले राम्रो सुरुवाद दिलाएका थिए । उनीहरुले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

ओपनर आसिफ शेख ४३ बलमा ९ चौका र २ छक्कासहित ५६ रन जोडे । अर्का ओपनर अर्जुन साउद ९० बलमा ३ चौका र २ छक्कासहित ५८ रनमा आउट भए ।

ज्ञानेन्द्र मल्ल ५१ बलमा १ चौकासहित ३३ रनमा आउट भए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र अर्जुनले ८१ रनको साझेदारी गरेका थिए । देव खनाल १ रनमा आउट भए ।

केन्याका विरज पटेलले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको थियो ।

केन्याका तेस्रो नम्बरका ब्याटर कोलिन्स ओबुयाले १ सय ११ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाए ।

स्पिनर साहब आलमले बोल्ड गरेपछि उनी शतक बनाउन चुकेका थिए । तल्लोक्रमका लुकास ओलुओचले विष्फोटक ब्याटिङ गरेपछि केन्याले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

लुकासले २७ बलमा ५ चौका र ५ छक्कासहित आक्रामक ५७ रनको अविजित इनिङ खेलेका थिए । अन्तिम ओभरमा स्पिनर बसिर अहमदलाई लुकासले २० रन प्रहार गरेका थिए ।

ओपनर नेल्सन ४ रनमा रन आउट भए । दीपेन्द्रसिंह ऐरीले चौथो ओभरको तेस्रो बलमा मिडअनबाट रन आउट गराएका थिए ।

सुखदीप सिंह र कोलिन्सले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । सुखदीप ६७ बलमा ४ चौकासहित ३७ रनमा सोमपाल कामीबाट क्याच आउट भए ।

प्रमुख ब्याटर राकिप पटेल ७ र सचिन भुडिया ८ रनमा आउट भए । तल्लोक्रमका इमानुलएल बुन्डी ३१ बलमा २ चौकासहित २३ रनमा आउट भए ।

कप्तान शेम न्गोचे २० बलमा १ चौका र १ छक्कासहित १७ रनमा आदिल अन्सारीको बलमा बोल्ड भए ।

नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ३६ रन खर्चेर २ विकेट लिए । आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ५६ रन खर्चेर २ विकेट लिए ।

साहब आलमले १० ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । बसिर अहमदले ९ ओभरमा ४७ रन खर्चेर १ विकेट लिए ।

नेपालले पहिलो खेल ७ विकेट र दोस्रो खेल १७ रनले विजयी भएको थियो । पाँच टि२० आई सिरिज नेपालले ३–२ ले जितेको थियो ।