चाम्लिङ खाम्बातिमको आवाजले अरु जातिका लागि पनि बल पुग्नेः अध्यक्ष राई « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

चाम्लिङ खाम्बातिमको आवाजले अरु जातिका लागि पनि बल पुग्नेः अध्यक्ष राई


यलम्वर टाइम्स
२५ भाद्र २०७९, शनिबार १२:५२

[दीपसन राई]

फिक्कल । किरात राई चाम्लिङ खाम्बातिमको केन्द्रीय सभा तथा प्रशिक्षण कार्यक्रम शनिबारबाट सुरु भएको छ ।

इलामको सूर्योदय नगरपालिका–८ स्थित विश्व होटलमा २५ गते शनिबार (आज) उद्घाटन सभामा खाम्बातिमका अगुवा तथा वौद्धिक व्यक्तित्व प्राज्ञ जयकुमार राई, खाम्बातिमका केन्द्रीय अध्यक्ष युवराज राई, डा. कैलाश राईलाई आयोजक समितिका सदस्य केवलराम राई, दिपीन राई र इलामका अध्यक्ष गोपाल राई लगायतले पगरी गुथेर सम्मान गरेका थिए ।

उद्घाटन सभामा चाम्लिङ भित्र रहेर योगदान दिने साथै सामाजिक क्षेत्र र पहिचानको क्षेत्रमा सहयोग पुर्याउने योयोक्खा झापाका अध्यक्ष गणेश राई, इलामका कमल चाम्लिङ राई, राजनीतिकज्ञ पहिचानवादी नेता धनप्रसाद गुरुङ, निवर्तमान वडाध्यक्ष तथा समाजसेवी सुवास साम्पाङ राई, वडाध्यक्ष जगबहादुर गुरुङ र खस क्षेत्री समाजका उमेश थापालाई अध्यक्ष युवराज राईले पगरी गुथेर सम्मान गरेका थिए ।

उद्घाटन सत्रमा प्रमुख अतिथि प्राज्ञ जयकुमार राईले भाषा मर्यो भने जाति आफै बिलाएर जाने निश्चित छ, त्यसको जर्गेना गर्न सकिएन र महत्व बुझ्न सकेन भने बाँचेको कुनै अर्थ रहदैन भन्दै खाम्बातिमले आफ्नो जात, धर्म र संस्कारमा गरेको योगदानलाई बुझ्न जरुरी रहेको बताए ।

विशेष अतिथि डा. कैलाश राईले प्रशिक्षण प्रदान गर्दै बहुभाषी भएको हाम्रो मुलुकमा धेरै भाषा, संस्कृति र धर्म भएको हुँदा यसलाई राज्यले सम्मान गर्न नसक्नु दुःखको कुरा भएको बताए ।

सभामा उनले चाम्लिङ राई जातिहरुको संस्कार र विभिन्न देशमा भएका जातिहरुको विषयमा जानकारी दिएका थिए ।

यसरी नै अध्यक्ष युवराज राईले सांगठनिक विषयमा प्रशिक्षण दिँदै राई जाति भित्रको अगुवा संगठनमा चाम्लिङ खाम्बातिम पनि भएकोले यसले उठाएको आवाज चाम्लिङहरुको मात्र नभई अरु जातिका लागि पनि सहयोग सिद्ध हुने बताए ।

उनले राज्यले उपेक्षा गर्दै लगे जातिहरुले विकल्पको बाटो खोज्नुपर्ने अवस्था आउने बताउँदै चाम्लिङ राईहरु खाम्बातिम भित्र संगठित हुने आधारहरु प्रस्तुत गरेका थिए ।

खाम्बातिमका अध्यक्ष युवराज राईको सभापतित्वमा भएको कार्यक्रममा आयोजक समितिका संयोजक गौरीमान राई, सूर्योदय नगरपालिका वडा नं. ८ का अध्यक्ष जंगबहादुर गुरुङ लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

खाम्बातिमका उपाध्यक्ष नरबहादुर राईले स्वागत गरेको सभामा २५ जिल्लाका चाम्लिङ राईहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो भने इलाम र झापाका खाम्बातिमका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

खाम्बातिमका महासचिव जीतराज राईले सञ्चालन गरेको कार्यक्रममा व्यवस्थापकीय पक्षबाट केन्द्रीय सदस्य दिपीन राई, केवलराम राई, गौरीमान राई लगायतले प्रतिनिधिहरुलाई स्वागतसँगै शुभकामना प्रदान गरेका थिए ।

सभा तथा प्रशिक्षण २६ गते सम्म हुने संयोजक गौरीमान चाम्लिङले बताए ।