व्यवसायी पोखरेलको शव कालिझोडा जंगलमा फेला « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

व्यवसायी पोखरेलको शव कालिझोडा जंगलमा फेला


यलम्वर टाइम्स
९ आश्विन २०७९, आईतवार ०९:१३

अर्जुनधारा । इलाम जाने भनी चार दिनदेखि घर बाहिर रहेका अर्जुनधारा ७ डाँडागाउँ निवासी देवीप्रसाद पोखरेल आईतबार (आज) अर्जुनधारा १० कालीझोडास्थित प्रगति सामुदायिक वनमा मृत फेला परेका छन् ।

हिजो बेलुका ४ बजेसम्म पोखरेल परिवारको सम्पर्कमा नै रहेका थिए । ‘टेलिफोन सम्पर्क भइरहेको थियो र हिजो घर आउने दिन थियो’ नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्षसमेत रहेकी पत्नी सुशिला संग्रौलालाई उधृत गर्दै आयुषा चुडालले बताएकी छिन् ।

हिजो ४ बजेपछि परिवारको सम्पर्कमा नरहेका पोखरेलको शव आज बिहान चारआलीको जंगलमा घोप्टो परेको अवस्थामा भेटिएको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र हुलिया देखेर आउनेहरुले शवको पहिचान गरेको बताइएको छ ।

उक्त शव अर्जुनधारा ७ बस्ने ५४ वर्षीय देवीप्रसाद पोख्रेलको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले पुष्टि गरेका छन् ।

मृतक पोखरेल नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुशिला संग्रौलाका श्रीमान हुन् ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले पोखरेलको शवको भद्रपुरमा पोष्टमोर्टम भइरहेको र आजै अपरान्ह ४ बजे कनकाई माईमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकार महासंघका सचिव डिकेश लामाले सम्पूर्ण पत्रकारहरुलाई मलामीमा सरिक हुन आव्हान गरेका छन् । पोखरेल अर्जुनधारा ७ का स्थायी बासिन्दा हुन् । विभिन्न व्यवसायका कारण केही वर्षअघिबाट बिर्तामोड ४ मा बसोबास गर्दै आएका थिए ।