राई पत्रकार संघ झापाले माङ्पाहरुलाई सम्मान गर्दै १५ औं स्थापना दिवस मनायो « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

राई पत्रकार संघ झापाले माङ्पाहरुलाई सम्मान गर्दै १५ औं स्थापना दिवस मनायो


यलम्वर टाइम्स
१४ आश्विन २०७९, शुक्रबार ०८:१७

अर्जुनधारा । किरात राई पत्रकार संघ झापाले दुई मुन्धमी संरक्षक माङ्पा (पुजारी) लाई सम्मान गर्दै १५औं स्थापना दिवस मनाएको छ ।

किरात राई जातिको मुन्धम, भाषा, धर्म र संस्कारलाई जीवन्त राख्न माङ्पाहरुको भूमिका महत्वपूर्ण रहको भन्दै शुक्रबार सम्मान गरिएको हो ।

सम्मान हुनेहरुमा झापा अर्जुनधाराका धनबहादुर खालिङ राई (८६) र सुशिला चाम्लिङ राई (खुसे नाना) (७०) रहेका छन् ।

यलम्वर टाइम्सको सभाहलमा भएको कार्यक्रममा सम्मानितहरुको परिचय उपाध्यक्ष रबिकिरण राईले वाचन गर्दै स्वागत गरेका थिए ।

अध्यक्ष राजन साम्पाङ राईको सभापतित्वमा भएको कार्यक्रममा सम्मानितहरुलाई प्रमुख अतिथि तथा अग्रज पत्रकार दिपीन राईले राई पगरी, फलफुल र नगदले सम्मान गरेका थिए ।

राई जातिको मुन्धुमी संस्कार गर्ने माङ्माहरुको संख्यामा कमि आइरहेको बेला सम्मानित माङ्पा धनबहादुर शरीरले असक्त भए पनि झापाका विभिन्न स्थानमा सेवा पुर्याउँदै आएका छन् ।

त्यस्तै माङ्पा सुशिला भारतको बाघडुग्रा, दार्जिलिङ, सिक्कम र नेपालका काठमाण्डौका क्षेत्रमा सेवा दिँदै आएकी छिन् भने किरात राई यायोक्खा अर्जुनधाराको सिली माङ्पाको रुपमा सक्रिय छिन् ।
कार्यक्रमको सञ्चालन सदस्य दीपसन राईले गरेका थिए ।