ठूला दललाई स्वतन्त्र उम्मेद्वारको डर किन ? « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

ठूला दललाई स्वतन्त्र उम्मेद्वारको डर किन ?


यलम्वर टाइम्स
१४ आश्विन २०७९, शुक्रबार ०८:३९

अर्जुनधारा । परिवर्तन भएको ३२ वर्षपछि स्वतन्त्र हौ भन्ने नागरिकहरुले स्वतन्त्र उम्मेद्वारी दिँदै दलहरुलाई मौन प्रश्न गरिरहेका छन् ।

पञ्चायती राजतन्त्रलाई फ्याँकेको १७ वर्षपछि २०६२।०६३ को जनआन्दोलनले लोकतान्त्रिक गणतन्त्र ल्याउँदासम्ममा पनि नेपाली जनताले भोक, रोग र अभावबाट पिल्सिनुले दलबाट नेपाली नागरिक आजित हुँदै स्वतन्त्रको पक्षमा उभिएको स्थानीय निर्वाचनमा देखिएको केही परिणामले दर्शाएको छ ।

नेकपा एमाले अध्यक्ष केपी ओलीको क्षेत्रमा युग पाठक प्रतिद्वन्दी हुनु, नेपाली कांग्रेसका झापा सभापति देउमान थेवे र एमाले नेता एलपी साँवाको विपक्षमा नन्दराज राई उठ्नु, केशवकुमार बुढाथोकी र अग्नी खरेलको क्षेत्रबाट स्वागत नेपाल उठ्नु दलहरु प्रतिको अविश्वासनीयताको उपज हो ।

काठमाण्डौ, धरान एमाले, कांग्रेसको वर्चश्व भएको ठाउँ हो । सो स्थानमा आफ्नो दबदबा भएर पनि स्वतन्त्रको विजयी हुनु दलहरुलाई गतिलो झापड हो ।

संघ र प्रदेशको निर्वाचन मंसीर ४ मा हुँदैछ । यो निर्वाचनमा स्वतन्त्र उम्मेद्वारले १० सिट कटाएको खण्डमा दल सफल हुन्छन् कि असफल हुन्छन् ? समिक्षाको विषय बनेको छ ।

दल असफल हुनु राजनीतिक हार हो । के कारणले राजनीतिमा वितृष्णा आयो, यसको खोजी गर्न सकिएन भने नेपाल संकटको भूमरीमा फस्दै जाने पक्का छ ।

पहिलो कुरा त नातावाद, कृपावाद र मै शासन सत्तामा रहुँ र अरुको अधिकारप्रति सुनुवाई नगरौं भन्ने नश्लीय सोच पैदा भएको कारण उम्मेद्वारी स्वतन्त्रको रहने युग पाठकको दाबी छ ।

अर्का स्वतन्त्र उम्मेद्वार स्वागत नेपाल भन्छन्, विश्वास गरेका दलले सम्झौता गर्दै देश विदेशीको हातमा जान लागेको कारण आफू उम्मेद्वार भएको बताएका छन् । उता नन्दराज राई पनि असक्षम नेतृत्वको कारण जनताले दुःख पाएको तर्क गर्छन् ।