दोस्रो नवयुवा गोल्डकपः आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबद्वारा उपाधी रक्षा « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

दोस्रो नवयुवा गोल्डकपः आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबद्वारा उपाधी रक्षा


यलम्वर टाइम्स
१८ आश्विन २०७९, मंगलवार ०६:४२

अर्जुनधारा । नेपालीहरुको चाड बडा दशैंको उपलक्ष्यमा अर्जुनधारामा आयोजित दोस्रो नव युवा गोल्डकपको उपाधि आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबले जितेको छ ।

अर्जुनधारा खेलमैदानमा भएको फाइनल खेलमा बिर्तामोड युनाइटेडलाई २–० गोल अन्तरले पाखा लगाउँदै अर्जुनधाराले उपाधि रक्षा गरेको हो ।

उपाधि रक्षा गरेसँगै आयोजक टिम अर्जुनधाराले नगद रु. एक लाख एक हजारसहित ट्रफि र मेडल हात पारेको छ । त्यस्तै उपविजेतामै चित्त बुझाएको बिर्तामोडले ५१ हजार प्राप्त गरेको छ ।

आयोजक अर्जुनधाराका लागि विकास खवास र सौरभ लिम्बूले गोल गरे । रोमाञ्चक खेलमा बिर्तामोडले दबाब सिर्जना गरे पनि सुरुवाती अग्रता अर्जुनधाराले लिएको थियो । खेलको १२औँ मिनेटमा अर्जुनधाराका विकास खवासले गोल गर्दै अग्रता दिलाए ।

निरन्तर दबाब दिइरहेको बिर्तामोडले केही समय अर्जुनधाराको हाफ ग्राउण्ड नै कब्जा गरे पनि स्कोर गर्न भने सकेन । घरेलु मैदानमा घरेलु समर्थकको पाएको अर्जुनधाराले दोस्रो हाफमा थप गोल गर्न सफल रह्यो ।

खेलको ५५औँ मिनेटमा अर्जुनधाराका सौरभ लिम्बूले गोल गरेका हुन् । उनले वान भर्सेज वानमा बिर्तामोडका गोलरक्षकलाई बिट गर्दै रित्तो पोस्टमा गोल गरेका हुन् ।

खेलको म्यान अफ दी म्याच आयोजकका सौरभ लिम्बू घोषित भए । उनलाई युवा व्यवसायी सुरेन राईले नगद १५ सय प्रदान गरे । विधागत पुरस्कारमा पनि आयोजकका खेलाडीको वर्चश्व रह्यो ।

खेलको बेस्ट डिफेन्स एजिस खड्का, बेस्ट मिडफिल्डर रोमन भुजेल, राइजिङ प्लेयर निश्चल बस्नेत घोषित हुँदा सर्वाधिक गोलकर्ता पनि आयोजककै पुजन राई बने । उनले सर्वाधिक ३ गोल गरेका थिए ।

यस्तै, उत्कृष्ट गोलरक्षक आयोजककै सञ्जय गुरुङ घोषित हुँदा म्यान अफ दी टुर्नामेन्ट श्याम मुर्मु बने । उनीहरुले जनही ३ हजार प्राप्त गरे ।

अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लब र अर्जुनधारा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको समापन अवसरमा स्थानीय पूर्व खेलाडी र जग्गा दातालाई सम्मान गरिएको थियो ।

पूर्व खेलाडीहरु धनबहादुर काफ्ले, खुसबहादुर खड्का र कृष्णबहादुर थापा छन् भने जग्गा दाता भीम काफ्लेलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले सम्मान प्रदान गरे ।

उनीहरुलाई नगर प्रमुख गोम्देन, वडा नम्बर ४ का अध्यक्ष अमर कटुवाल, ७ का अध्यक्ष गोविन्द खतिवडा, आयोजक क्लबका अध्यक्ष देवेन्द्र मैनाली, अनिष न्यौपानेलगायतले ट्रफी र नगद प्रदान गरेका थिए ।