मैले जानेको सालबारीका बलिराज « Yalambar Times
१० मंसिर २०७९, शनिबार

मैले जानेको सालबारीका बलिराज


यलम्वर टाइम्स
२४ आश्विन २०७९, सोमबार ०८:५२

म २०६२ सालमा तत्कालिन शनिश्चरे–६ हाल अर्जुनधारा–११ (सालबारी), झापा स्थित महारानीगञ्ज स्कुलमा दरवन्दी मिलानको क्रममाः आउनुभन्दा धेरै अगाडिदेखि नै बलिराज इङ्नामको नाम सुन्दै आएको थिए । लिम्बू समुदायका राजनीतिकर्मी, सामाजिक व्यक्तित्व, शिक्षाप्रेमीका साथै धार्मिक क्षेत्रमा पनि बलिराज इङ्नामको निकै ठूलो योगदान रहेको पाइन्छ । एक दिन स्कुलमै आएर लिम्बू सर ‘नानीको पहाड घर कहाँ पर्यो ?’ भन्ने प्रश्नबाट बलिराज इङ्नाम बुबासँग दोहोरो चिनजान भएको थियो । तेह्रथुमे परिए छ, अब अप्ठ्यारो परेमा मेरै घरतिर बस्नु पर्छ भन्ने उहाँको शब्दले ‘मलाई के खोज्छस् ……..!” भने झै भयो । म त्यसबेला एकोहोरो ३० किलोमिटर जति बसको यात्रा गरेर स्कुल आईजाई गरीरहेको थिएँ । कान्छो छोरा–बुहारी दाइ महेन्द्रराज र भाउजु दुर्गा इङ्नामसँग सल्लाह गरेर उहाँले भनेकै जस्तो एउटै भान्सामा खाना खाएर बस्न थालें । यस बीचमा उहाँसँग सङ्गत गर्ने र उहाँका बारे धेरै कुरा जान्ने मौका मिलेको छ ।

कृपाहाङ र बुद्धवति आङ्बुहाङ इङनामको कोखबाट वि.सं. २०८५-१२-०४ मा साविक आठराइ (ईवा), तेह्रथुम, पल्लो किराँत हालः ईवा गा.पा., वडा नं. ४, तेह्रथुममा दुइभाइ मध्ये कान्छो सन्तानको रुपमा बलिराज इङ्नामको जन्म भएको थियो । लिम्बूवान क्षेत्रको सुब्बा खलकमा जन्म भए पनि अढाइ वर्षको कलिलो उमेरमा बुबाको माया गुमाउनु परेकोले बाल्यकाल त्यति सुखद थिएन । राणा शासन काल शिक्षाको ज्योति नछरिए पनि तेह्रथुमको आठराईमा पढ्नु पर्छ भन्ने मान्यता फैलिसकेको थियो । धुलौटे पाटीमा सावाँ अक्षर छिचोलेर लेनदेन व्यवहारको तमसुक लेख्न सक्ने भए पछि उहाँको पढाइ पूरा भएको थियो । त्यसभन्दा माथि पढ्न भारतको दार्जिलिङ वा वनारस जानु पर्दथ्यो त्यस्तो अनुमति आमाबाट उहाँलाई मिलेन । त्यस समयमा लाहुर जाने चलन थियो । बलिराज पनि साथीसङ्गीको साथ लागेर लाहुर लाग्न हिंडेछन् । तर वास बसेको ठाउँमा सुब्बाको छोरा पनि लाहुर लाग्न जाने हो, भनेकोले बीच बाटैबाट लाहुर जाने सपना त्यागेर फर्केछन् । गाँउमै केही गररे बस्नु पर्छ भनी घरजम गर्ने क्रममाः वि.सं. २००७ सालमा पहिलो जसमाया लिङदेन र वि.स. २०१० सालमा दोश्रो जोगमाया तुम्रोकसँग विवाह बन्धनमा बाँधिएछन् । जोगमाया तर्फ १ छोरी र ५ छोरा यसै गरी जसमाया तर्फ १ छोरा र २ छोरी गरी जम्मा ६ भाइ छोरा र ३ बहिनी छोरी मध्ये १ छोरा र १ छोरी बाहेक अन्य छोराछोरी हालसम्म सकुशल रहेका छन् ।

बलिराज इङ्नाम लगभग १०० वर्षमात्र बाँचेनन् लामो आयु बाँचे जस्तै देश र समाजको लागि असल र उदाहरणीय कार्यहरु धेरै गर्न भ्याएका देखिन्छ । धार्मिक, सामाजिक र शिक्षाको क्षेत्रमा थोरै व्याक्तित्वहरुले मात्र गर्न भ्याएका कार्यहरु उहाँ एक्लैले गर्न भ्याएको पाइन्छ । धार्मिक क्षेत्रलाई हेर्ने हो भने उहाँ धर्मसुधारक रन्दल इङनामका पनाति भएकोले सानैदेखि प्रभाव परेको भेटिन्छ । लिम्बू समुदायमा जाँडरक्सी, माछामासु अधिक सेवन गर्ने आफ्नो घरपरिवारको वास्ता नगर्ने चलन थियो । यस्तो नराम्रो चलनबाट सिङगो लिम्बू समुदायलाई छुट्कारा दिलाउन लागि पर्ने समाज सुधारक थिए, ‘रन्दल इङ्नाम’ । यसै समयमा राष्ट्रविभूति महागुरु फाल्गुनन्द किराँत धर्मको माध्यमबाट लिम्बू समुदायलाई विकृति विसंगतिदेखि छुट्कारा दिलाउन खोजि रहेका थिए । वि.सं. १९९६ सालमा माहागुरुकोे कावेली नदीमा मकर नुहाउने उर्दी अनुसार बालक बलिराज इङनाम पनि गाँउलेहरुको साथ लागेर त्यहाँ पुगे । महागुरुको आशिर्वचनको प्रभावले त्यसै स्थानमा चेला बनिने अठोड लिएर असल अनुयायी बनिए । वि.सं. २००४ सालमा आठराइको सक्रान्तिमा महागुरु आउनु हुँदा (गुरुको अशक्तताका कारण) बोकेर ल्याउनेहरु मध्ये एक जना उहाँ पनि हुनुहुन्थ्यो । गुरुको आज्ञालाई शिरोधार्य गरेर वि.सं. २०१८ सालमा किराँत धर्मको पवित्र स्थल कुम्भकर्णको दर्शन गर्नु भएको थियो । महागुरुको आशिर्वचन कण्ठष्त सुनाउनु हुने, उहाँको हातपाउ चलेसम्म निरन्तर महागुरुको भक्त भएर रहनुभयो । उहाँ विहान ३:०० बजे उठेर चोखोनितो हुने । फूलफलेदो खोजेर ल्याई आप्mनो पूजाको थानमा डमरु र शंख बजाउदै दैनिक पूजापाठ गर्नुहुन्थ्यो । उहाँकोमा कोही पनि आशा गरेर आउनेहरु रित्तो हात फर्कनु पर्दैन थियो । कतिपय मठमन्दिर, सालिक र माङ्हिमहरु निर्माण उहाँकै पहलमा भएको पाइन्छ । दुर्गापुर स्थित श्रीजङ्गाको सालिक आप्mनै लगानीमा निर्माण गरिदिनु भएको थियो । यसैगरी सालबारीमा माङ्हिम र गुरुको सालिक निर्माणमा प्रमुख भूमिका खेल्नु भएको थियो भने सक्रान्ति–तेह्रथुम र खुदुनाबारी–झापा लगायतका स्थानहरुमा गुरुको सालिक निर्माण हुनुमा उहाँको पनि योगदान रहेको पाइन्छ । हात्तीलेदा, इलाम स्थित माङ्हिमलाई निरन्तर सहयोग गरिरहनु भएको थियो । ‘फाल्गुनन्द बहुभाषिक पठ्शाला’, चुलाचुली– १ हात्तीलेदा, इलाम सञ्चालनमा ल्याउन उहाँको पनि भूमिका रहेको पाइन्छ । उता माङ्सेबुङ (लारुम्बा), इलाममा पटकपटक पुगेर प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गरिरहनुहुन्थ्यो ।

उहाँले सामाजिक तथा राजनितिक कार्यमा पनि समय उतिकै दिएको भेटिन्छ । झापा झरेपछि ज्योतिषिले व्यापारी हुन्छौ भनेअनुसार धान व्यपार गर्न थाल्दा झापा आन्दोलनका अग्रज रामनाथ दाहालको सम्पर्कले कम्युनिष्ट राजनीतिका नजिक हुन पुगे । तर वि.सं. २०२८ सालको झापा विद्रोहमा आफ्नै आँखा अगाडि मुला काटे जस्तै मानिस काटिएको देखेपछि कम्युनिष्ट राजनीतिबाट टाढिन पुगे । समाजिक कार्य गर्दागर्दै पञ्चायती व्यवस्थाको नजिक रहेर पटकपटक साविक शनिश्चरे–६, झापाको वडा अध्यक्ष पदमा चुनाव जित्न पुगे । यसरी वडा अध्यक्ष पदमा रहेर काम गर्ने अवर पाउँदा धेरै बाटा र पुलहरु निर्माण भएको कुरा अझ पनि गाउँबासी बताउने गर्छन् । नेपालमा बहुदलको आगमन पश्चात जातीय मुक्ति र पहिचनको आन्दोलनमा होमिएको पाइन्छ । यसै सिलसिलामा जनमुक्ति पार्टी नेपाल, गठन गर्ने क्रममा संस्थापक केद्रिय सदस्य रहेर नेपालको पूर्वी भागमा पार्टी विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेको देखिन्छ । मध्यवदी संसदीय चुनावमा जनमुक्ति पार्टीको तर्पmबाट तत्कालिन झापा क्षेत्र नं. २ बाट संसदको पदमा चुनाव लडेर सम्मानित मत प्रात गरेका थिए । उहाँकै आगमन पश्चात सालबारी क्षेत्रमा पहाडबाट थपिनेहरुको सङ्ख्या उल्लेखिय रुप बढेको मान्ने गरेको पाइन्छ । सालबारीको नयाँबस्ती बसाउने श्रेय उहाँलाई नै दिने गरेका छन् । यसैगरी आफ्नो जीवनको अन्तिम अवस्थासम्म नै सामाजिक र राजनीतिक कार्यमा सक्रिय रहेका थिए ।

राणा शासन काल भए पनि नेपालको पूर्वीय भागको तेह्रथुम आठ्राइ शिक्षाको क्षेत्रमा निकै अगाडि बढेको थियो । त्यहीको वातावरणमा हुर्किएको बलिराज इङनामलाई शिक्षाको महत्व बारे राम्रो जानकारी थियो । झापामा बसोवास गर्न थालेपछि स्थानीय शिक्षासेवी तथा विद्यालय संस्थापक हर्क कुमालसँग मिलेर अर्जुनधारा–११ सालवारीमा रहेको महारानीगञ्ज मा.वि. लाई एउटा उचाइसम्म पुर्याउन ठूलो भूमिका खेलेको पाइन्छ । तत्कालनमा वडा अध्यक्ष हँुदा विद्यालय सञ्चालक समितिको पदेन सदस्यदेखि लिएर आफै विद्यालय सञ्चालक समितिको अध्यक्ष समेत भएर विद्यालय सञ्चालन गरेका थिए । हिजो विद्यालय सञ्चालन गर्न समितिमा नरहँदा पनि कहिले देउसी खेल्दै त कहिले खमारमा धान उठाउँदै गरेका हुन्थे । आफ्ना नानीहरुलाई त के गाँउलेका नानीहरुलाई पनि पढ्न पठाउनु पर्छ भनी उर्दी गरेको भेटिनु हुन्थ्यो । यसैगरी आफ्नो जन्म स्थानमा पनि शिक्षाक्षेत्रमा केही गर्नु पर्छ भन्ने मनसायले वि.सं. २०४८ सालमा हालको ईवा गा.पा. ४ मा समाज सुधारक जिजुबाजे रन्दल इङ्नामको नाममा श्री रन्दल आधारभूत विद्यालयको स्थापना गर्न पुगेका छन् । यस विद्यालयलाई भौतिक तथा शैक्षिक स्तर उन्नतिका लागि आर्थिकका साथै ५ रोपनी ८ आना ३ दाम जग्गा समेत दान गर्नु भएको थियो । यसैगरी विद्यालयको हाताभित्र विद्यालयको नामकरण गरिएका समान सुधारक रन्दल इङ्नामको सालिक र सरस्वतिको मन्दिर निर्माणमा पनि प्रमुख भूमिका खेल्नु भएको पाइन्छ ।

वि.सं. २०१८ सालमा भारु तीन हजार रुपैयाँको मुठा कम्बरमा बाधेर मधेसमा आफ्नो भाग्य खोज्न झरेको समयको कथा अत्यन्तै रोचक पाराले सुनाउनु हुन्थ्यो, बलिराज इङनाम । औलोको वास्ता नगरी झापाको कुनाकुनामा घुम्दाघुम्दै अन्तिममा साविक शनिश्चरे–६ (सालबारी) मा आफ्नो कुम्लो बिसाउन पुग्नु भएको रहेछ । मासुमङ्स र मद्यपानदेखि टाढा बसेका उहाँको जीवन यापन अत्यन्तै सरल रहेको देखिन्छ । जोसँग पनि सजिलै भिज्न सक्ने मात्र नभइ परेको बेला जसलाई पनि तन, मन र धनले सहयोग गर्न अघि सरिहाल्ने स्वभाव रहेको थियो । यसरी हालको अर्जुनधारा– ११ (सालवारी) मा बसोवास गर्दै आउनु भएका बलिराज इङनामले लगभग ९६ वर्ष यस संसारको माटोलाई टेकेर यही मिति २०७९-५-३१ गते तागेरा निङ्वाफु माङको काखमा लिन हुन पुग्नु भएको छ ।
(लेखक महारानीगञ्ज माविका प्रअ हुन् ।)