शनिश्चरेमा लक्ष्मी जयन्ती भव्य « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

शनिश्चरेमा लक्ष्मी जयन्ती भव्य


यलम्वर टाइम्स
७ कार्तिक २०७९, सोमबार ०९:१८

अर्जुनधारा । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरेको छ ।

शनिश्चरे बजारको ज्येष्ठ चौतारोमा पानसमा दियो बालि महाकवि लक्ष्मीप्रसाद देवकोटाको शीरमा नेपाली टोपी पहिर्याइ कार्यक्रमको उद्घाटन गरिएको थियो ।

प्रमुख अतिथि संगीतकार तथा गीतकार शिवशंकर थापाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको वर्णन गर्दै भाषाका मिलनकार भानुभक्त भए जस्तै साहित्यका मुर्धन्य सारथी देवकोटा भएको हुनाले नेपालीलाई एकतामा ल्याउने उहाँको ठूलो योगदान भएको बताए ।

कार्यक्रममा साहित्यकार पुण्य बराल र संगीत क्षेत्रबाट सन्तोष आलेलाई सम्मान गरिएको थियो ।

सम्मानित साहित्यकार बरालले कविता वाचन गरेका थिए भने, संगीतकार आलेले आमा नामक गीत पस्केका थिए ।

कार्यक्रममा हस्त परियार, हरि काफ्ले, सुखी गिरी, सुप्रिया सापकोटा, समिर घिमिरे लगायतले गीत पस्केका थिए भने सुखी कट्टेल, निर्जला कटुवालले नृत्य प्रस्तुत गरेका थिए ।

कवितातर्फ पुराना साहित्यकार मोहन घिमिरे, लोकनाथ पौडेल, चित्रा पौडेल आदिले कविता वाचन गरेका थिए ।

ज्येष्ठ नागरिकका अध्यक्ष रामप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष लक्ष्मी इङ्नामले गरेका थिए ।

कृष्ण पौडेलले सञ्चालन गरेको कार्यक्रममा अर्जुनधारा–७ वडा सदस्य देवकुमार राई, वडा नं. ८ का सदस्य सरु बुढाथोकी, प्रेस क्लबका पूर्वअध्यक्ष दिपीन राई, पत्रकार इन्द्रकुमार राई, राप्रपाका लवकुश गिरी, चेतकुमार खनाल लगायतको आतिथ्य रहेको थियो ।