म अनि मेरो मृत्यु शैया « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

म अनि मेरो मृत्यु शैया


यलम्वर टाइम्स
१४ कार्तिक २०७९, सोमबार ०८:२९

बिहान निन्द्रबाट बिउँझेदेखि नै देब्रे छातीमा केही गह्रुगोको आभाष भइरहेको थियो । असार महिनाको समय, केही गर्मीको चाप बढिरहेको थियो । शरीरमा पसिना आएर भित्री कपडा भिजेको अनुभव भइरहेको थियो । निधारमा पनि चिटचिट पसिना आइरहेको थियो । मन नलागि भए पनि ओछ्यान छाड्न बाध्य भएँ । नित्यकर्मबाट फुर्सद पाए पश्चात श्रीमतीजीले तातो चिया ल्याएर दिइृ भारी मनले चियाको कप रित्याएँ । हतारहतार गरेर डिउटी जानलाई खाना खान बसे । छाती गह्रुगों भएकोले मन नलागि भए पनि हात जुठो पारे । दुईचार गाँस खाएर हातमुख चुठ्न गएँ ।

भातको तातोले होला अचानक आँखाको ढकनी बन्द होला जस्तो भयो । सरासर कोठामा गएँ र ओछ्यानमा ढक्किएँ । विस्तारै विस्तारै आँखा बन्द भयो । केही समय पश्चात अचानक आँखा खुल्यो । बाहिर आँगनमा चिच्याहट र रुवाबासी चलिरहेको थियो । ‘के भएछ’ भनेर बाहिर दौडिएर गएँ । आँगनमा कसैको मृत शरीर लडाएर राखिएको थियो । सेतो कात्रोमा बेरेर राखेको मृत शरीरमाथि मेरी श्रीमती छोराछोरी र आफन्तहरु डाँको छाडेर कहाली कहाली रोइरहेका थिए । शीरतर्फ सुगन्धित अगरबत्तिको मुठो जलिरहेको थियो । म आश्चर्यचकित हुँदै लासको अनुहार निहार्न खोजे । अनुहारभरि अविर छर्केको कारणले झट्ट अनुहार ठम्याउन सकिन । निधारमा एक रुपैयाँको ढक्की टाँसेको थियो । जीवनभरको दौडादौड र पैसा कमाउने ध्येय, मेहनतको कमाइको प्रतिफल मृत्यु पश्चात टाँसिने यही एक रुपैयाँको ढक्की मात्र होला । जो मृत्यु परान्त पनि सँगै लिएर जाने सम्पत्तिको नाममा ।

मैले छेउमा गएर ‘को हो ?’ भनेर प्रश्न गरें । तर मेरो प्रश्न सायद कसैले सुनेन । यताउता नजर दौडाएँ, चारैतर्फ मेरा आफन्त, छिमेकी र मेरो परिचित मित्रहरु उपस्थित थिए । सबै जनाको अनुहार मलिन थियो । म पनि ति सबैको बीचमा बसें । आत्मिय मित्रहरु सबै जना सुक्सुक्याउँदै आँशु झार्दै रुमालले आँखा पुछ्दै थिए । मैले फेरि तिनीहरुलाई प्रश्न तेस्र्याए । ‘कसको मृत्यु भएको हो ?’ तर उनीहरुले पनि मेरो प्रश्न सुनेको नसुन्यै गरे ।

केही बेरमा मेरा भतिजले एउटा फोटो फ्रेममा सजाएर ल्यायो र मृतकको शीरतर्फ राख्यो । मेरो आँखा त्यो फोटोमा पर्यो । ‘अरे ! मेरै फोटो छ । म जिउँदो हुँदाहुँदै किन मेरो फोटो यसरी राखेको ?’ भन्दै म चिच्याएँ । यसरी चिच्याउँदै त्यो फोटो समाएर फ्याँकिदिन खोजें, तर मेरो हातले त्यो फोटोमा स्पर्शको आभाष भएन । सबैले सुन्ने गरि चिच्याएँ । श्रीमतीलाई झकझक्याएँ । सबै व्यर्थ । न त मेरो आवाज कसैले सुने न त मैले आफ्नै श्रीमतीलाई स्पर्श गर्न पाएँ ।

मलाई मनमा ज्यादै खुल्दुली भयो । अनि लाशको छेउमा गएर अनुहार राम्ररी निहारे । अचानक म छाँगाबाट खसेझै भएँ । त्यो लाशको अनुहार त मेरै रहेछ । ‘के म मरे ?’ मेरो मुखबाट त्यतिमात्र शब्द निस्कियो । मैले आफूलाई सुमसुम्याएँ । आफ्नो नाक, कान, आँखा, ओठ छामे । ‘म सग्लै छु त ! अनि कसरी यस्तो भयो ?’ म जोरजोरले चिच्याउन थालें । तर पनि मेरो आवाज कसैले सुनेनन् । ‘म जिउँदै छु । के भएर यस्तो भयो ?’ भन्दै श्रीमती छोराछोरी र आफन्तलाई झकझक्याँउन थाले । तर उनीहरुले वास्तै गरेनन् । अन्त्यमा म थाकेर केही पर एकान्तमा गएर बसे । ‘अचानक यो के भयो ? म जिउँदो छैन र ? म त्यहाँ हुनुको कसैलाई आभाष थिएन । के साँच्चै मेरो अस्तित्व हराएको हो ?’ यस्तै विचार मनमा सोच्दै चारैतर्फ नजर दौडाएँ ।

गाउँका प्रायः छिमेकीहरु भेला भएका थिए । उनीहरु एकआपसमा कुरा गर्दै थिए । ‘मानिसको जीवन यस्तो पनि हुँदोरहेछ । हिजो साँझसम्म सद्धे रहेको मानिस आज अचानक मृत्यु भयो । कस्तो विडम्बना । बाँचुन्जेल तेरो मेरो भन्यो अहिले मृत्यु शैयामा सबै आफन्त, धन सम्पत्ति छाडेर मुढाझै लडिरहेको छ ।’ त्यसमा फेरी अर्कोले थप्यो, ‘त्यहि त कति राम्रो मान्छे थियो । भरअभरमा काम लाग्ने मान्छे । राम्रो मान्छेको त चाँडै मृत्यु हुनेरहेछ ।’ मैले उसको मुहारमा एकटक निहारे । उ केही निश्चिनता देखिन्थ्यो । कारण उसले मबाट केही रुपैयाँ सापटी लिएको थियो । मैले यति त कुरा ठम्याएँ कि अब त्यो पैसा मेरो मृत्यु पश्चात फिर्ता गर्नुपरेन । केही पर मेरो प्रतिद्वन्दीलाई पनि देखे । म सरासर उ भएतर्फ लम्किएँ । उसले अर्कोलाई भन्दै थियो, ‘कस्तो घमण्डी थियो । मेरो हरेक मामिलामा हस्तक्षेप गथ्र्यो । मैले भनेको कुरा कहिल्यै सुनेन । सधै मेरो बराबरी गर्न खोज्थ्यो । तर हाज हेर न यही उमेरमा नै मृत्यु भयो ।’ उसको कुरा सुनेर म केही मुस्कुराएँ । ‘आफू जीवनभर पैसाको घमण्डले फुलेर अरुलाई गन्दैन, अहिले म मृत्यु शैयामा लडेको अवस्थामा आफ्नो मनको भडास निकाल्दैछ ।’ म उसको मनको हालत बुझेर अन्य मित्रजन भए ठाउँ लागे ।

केही पर एकान्तमा एउटी महिलामाथि नजर पर्यो । केही चिनेझै मुहार देखें । साडीको फेरोले मुख छोपेर सुकसुकाइरहेकी थिए । क्षणभर निहारे । त्यही सोल्टिनी रहिछ । मुटु च्वास्स घोच्यो । त्यो बिछोडीएको घडी पश्चात आज यतिका वर्षसम्म एक पटक पनि साक्षात्कार भएको थिएन । तर, संजोग पनि कस्तो मेरो अन्तिम यात्रामा साक्षात्कार भयो । जीवनभर एक पटक त भेट होला भन्ने मनमा आशा जिउँदै थियो । तर, जिउँदै हुँदा भेट नभएको सोल्टिनीलाई भेट्न मर्नैपर्ने रहेछ ।

सायद भाग्यको खेल यस्तै रहेछ । उ विस्तारै मेरो शव भएतर्फ पाइला चाल्दै आई । छेउमा आएर उसले हातमा ल्याएको केही सामानको पोका मेरो छातीमा राखिदिइ र तुरुन्त फिर्ता भई । मैले देखें, उसले पुरानो पत्र राखेकी रहिछ । सायद मैले १–२ वटा पठाएको पत्र मलाइृ नै तिलाञ्जली दिएकी होला । मानिस नै नभए पश्चात याद किन राख्नु भनेर फर्काएकी भन्ने सोच बनाए ।

मृत्यु शब्द सुन्दामात्र होइन, कल्पना गर्दा पनि डर लाग्थ्यो । मृत्यु कस्तो हुन्छ होला ? मृत्यु पश्चात कस्तो अनुभव हुन्छ होला ? अनि मेरो मृत्यु पश्चात मेरा सन्तानहरु कुन अवस्थामा हुन्छन् होला ? भन्ने सोचेर डर लाग्थ्यो । तर, आज आफू त्यही अवस्थामा आइपुग्दा त्यस्तो खासै डरको अनुभुति भएन । मृत्यु पश्चात न डर न चिन्ता केही नहुने रहेछ । आफूसँग भएको सम्पत्तिको लोभ लालचदेखि टाढै भइने रहेछ ।

मैले हेर्दाहेर्दै मेरो शव यात्रा पनि सुरु भयो । केहीबेरमा मेरो शव जंगल पुर्याए । खाल्डो खने, बाकस बनाए र त्यही बाकसमा मेरो मृत शरीर हालिदिए । मेरो औंलामा भएको औंठी निकालेर राखे । मैले लगाएका कपडा च्यातिदिए । शरीरमा अरु केही गहना छ कि भनेर छामे । केही नभेटेपछि निधारमा टाँसेको सिक्का पनि निकाले, अनि छातीमा चामलको पोका हालेर काठको ढकन लगाएर माटोले पुर्न थाले । अचानक मेरो नजरमा अन्धकार छायो । मैले केही देख्न र सुन्न सकिन । केहीबेर पश्चात ‘बाबै के भयो ? सञ्चो भएन कि क्या हो ?’ भन्ने आवाज सुनेर आँखा खोले । छेउमा मेरी श्रीमती आएर मेरो निधार छाम्दै थिई । म झस्केर उठें । अनि आफ्नो हातले आफ्नो शरीर छाम्न थाले । श्रीमती आश्चर्यचकित भएर हेर्न थाली । मैले आफ्नो कोठाको भित्ता चारैतर्फ नियाले । श्रीमतीले चिसो पानी ल्याएर दिई । एकै सासमा पानी रित्याएर गिलास राखें ।

‘के भो सपना नराम्रो देख्नु भयो जस्तो लाग्यो ।’ उसले मेरो निधारको पसिना पुछ्दै सोधी ।

‘हो त, आज म मरेको सपना देखें ।’ मेरो जवाफले उ झण्डै रोई । मैले नै उसलाई ढाडस दिनुपर्यो । उ केही शान्त भइ । ‘म चिया बनाएर ल्याउँछु’ भनेर उ गई । केही क्षण एकान्तमा सोच्न थाले, सपनामा नै भए पनि मैले आफ्नो मृत्यु देखें । मृत्यु पश्चात डर त्रास लोभ मोह माया सबैबाट टाढा भइनेरहेछ । जीवनभरको कमाइको पनि लालच नहुनेरहेछ । आफ्नोसँग छुटिनुको पीर पनि नहुनेरहेछ । तर अहिले आफू जिउँदो भएको अवस्थामा त्यो हराएको डर त्रास लोभ सबैको पनरागमन भए झै लाग्यो । सायद जीवन र मृत्यु बीचको सीमा रेखा नै यी सबै होला । केही बेरमा श्रीमतीले ल्याइदिएको चियाको सुर्को तान्दै केही एकान्तमा रुमल्लिन थाले ।