रुपन्देही–२ का उम्मेद्वार थापाले भने, ‘हामी विजयी हुँदै जाँदा भ्रष्टाचारीहरु तह लाग्दै जानेछन्’ « Yalambar Times
८ बैशाख २०८१, शनिबार

रुपन्देही–२ का उम्मेद्वार थापाले भने, ‘हामी विजयी हुँदै जाँदा भ्रष्टाचारीहरु तह लाग्दै जानेछन्’


यलम्वर टाइम्स
२८ कार्तिक २०७९, सोमबार १०:३१

रुपन्देही । रुपन्देही क्षेत्र नं. २ का गठबन्धनका उम्मेद्वार केशवबहादुर थापा सूर्यवंशीले गठबन्धनका उम्मेद्वारहरुले जित्दै जाँदा भ्रष्टाचारमा तल्लितहरुलाई तह लगाउँदै जाने दिन आउन लागेको बताएका छन् ।

चुनाव प्रचारप्रसार अभियान अन्तर्गत क्षेत्र नं. २ को विभिन्न स्थानमा भएको चुनावी सभामा उम्मेद्वार थापाले मुलुक भ्रष्टहरुकै कारण नेपाली जनताले दुःख, कष्ट व्यहोर्नु परेको अवस्था छ । दुःख दिने ति कष्टधारीहरुलाई मंसीर ४ को निर्णायक मतले परास्त गरी सजाय दिने दिन आएको बताएका छन् ।

जनताको बलिदानीपूर्वक आएको लोकतन्त्रलाई धमिल्याउन अहंकारवादीहरु पुनः चुनावमा देखिएको हुँदा त्यस्तालाई बेलैमा सजाय नदिए मुलुक गम्भीर मोडमा उभिने छ । त्यसैले क्षेत्र नं. २ को अनेकौं समस्याहरु मध्ये जल्दोबल्दो सुकुम्बासी समस्या, बेरोजगार समस्या र सर्वसुलभ स्वास्थ्य सेवाको समस्यालाई अन्त्य गर्नका लागि गठबन्धनबाट हामी यहाँहरुको माझ आएका छौं । तपाईको सुनौलो हातले गठबन्धनको घर चिन्हमा मत जाने विश्वास छ, थापाले भने ।

मुलुकलाई विदेशी रणभूमि बनाउन ठूला दलले खेलेका भूमिकाप्रति गम्भीर हुँदै त्यसलाई सच्याउन हामी चाहन्छौं । हामीले भन्दै आएका छौं सत्ताको एक सुक्को पनि नचलाई जनताको हितको लागि हाम्रो भूमिका रहनेछ ।

रुपन्देही क्षेत्र नं. २ आदिवासी जनजाति बाहुल्यता रहेको क्षेत्र हो । उक्त क्षेत्रमा गठबन्धन जनमुक्तिका थापासँग एमालेका उपाध्यक्ष विष्णु पौडेल प्रतिस्पर्धी छन् ।

पौडेल यस क्षेत्रका पटक–पटक निर्वाचित सांसद हुन् । सुकुम्बासी समस्याको विषयमा उनको पहल नरहेको भन्दै गठबन्धनको विजय हुने हाम्रा सहयोगी रोशन अस्लामीले यलम्वर टाइम्सलाई बताए ।