कालीस्थानमा मंसीर १८ बाट श्रीमद्स्कन्ध महापुराण « Yalambar Times
८ बैशाख २०८१, शनिबार

कालीस्थानमा मंसीर १८ बाट श्रीमद्स्कन्ध महापुराण


यलम्वर टाइम्स
३ मंसिर २०७९, शनिबार ०२:१३

कालीस्थान । पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानको १८ औं बार्षिक अनुष्ठानमा श्रीमद्स्कन्ध महापुराण एवम् महारुद्रीसहित विराट महायज्ञको तयारी गरिएको छ ।

धान्य पूर्णिमाको अवसर पारेर आगामी मंसिर १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी तीब्र पारिएको हो ।

संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पूरा गर्न अक्षयकोष बृद्धि, विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी प्रशमनार्थका लागि विराट महायज्ञको आयोजना गरिएको पीठका अध्यक्ष ज्योतिषाचार्य पण्डित लक्ष्मीप्रसाद पोखरेलले बताए ।

उक्त विराट महायज्ञलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न कालिकापीठ व्यवस्थापन समितिको बैठकले विभिन्न उपसमितिहरु गठन गरेको छ ।

विराट महायज्ञको तयारीका लागि आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा कोषाध्यक्ष खडानन्द खतिवडा, प्रचार–प्रसार समिति संयोजकमा उपाध्यक्ष डिल्लीराम दाहाल, मञ्च तथा मण्डप ब्यवस्थापन समिति संयोजकमा सहसचिव रामप्रसाद मिश्र, पूजा समिति संयोजकमा राजेन्द्र अधिकारी रहेका छन् ।

त्यस्तै आपूर्ति व्यवस्थापन समिति संयोजकमा टंकनाथ पोखरेल, भोजनालय ब्यवस्थापन समिति संयोजकमा प्रेमप्रसाद पोखरेल, पण्डाल–गेट–विजुली–साउण्ड सिष्टम व्यवस्थापन संयोजकमा उपाध्यक्ष कर्णबहादुर तामाङ, अतिथि सत्कार एवं स्वागत समिति संयोजकमा पं. लक्ष्मीप्रसाद पोखरेल, स्वयंसेवक समिति संयोजकमा मनोजसिंह गोम्देनलाई चयन गरिएको र आवश्यकता अनुसार समिति विस्तार गरिने पीठका सचिव भोलानाथ पोखरेलले जानकारी दिए ।

उनका अनुसार संगीतमय श्रीमद्स्कन्ध महापुराण स्कन्द महापुराणका ब्याख्याता प्राचीन र अर्वाचीन दर्शन शास्त्रका ब्याख्याता, प्रकाण्ड विद्वान गुरु चैतन्यकृष्णबाट संगीतमय कथा प्रवचन रहने छ भने वैदिक एवम् पौराणिक ग्रन्थहरुका मर्मज्ञ विद्वान आचार्य रघुनाथ रिजालको आचार्यत्वमा विद्वत आचार्यहरुद्वारा महारुद्री महायज्ञ सञ्चालन हुनेछ ।

मंसिर १८ गते समुद्घाटन हुने श्रीमद्स्कन्ध महापुराण कथा प्रवचन दैनिक विहान १० बजेदेखि ३ः३० बजेसम्म, नित्य पूजा विहान ७ बजेदेखि ९ बजेसम्म एवम् रात्री जागरण साँझ ६ः३० बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ ।