दीप प्रज्वलन र सतबीज छर्नेको संख्या यो वर्ष पनि त्यतिकै « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

दीप प्रज्वलन र सतबीज छर्नेको संख्या यो वर्ष पनि त्यतिकै


यलम्वर टाइम्स
६ मंसिर २०७९, मंगलवार ११:००

अर्जुनधारा । पितृको सम्झनामा लाख बत्ती बाल्ने धर्मअनुरागीहरुको संख्या यो पटक उल्लेखीय देखियो ।

अर्जुनधारा जलेश्वर धामको ४० औं धार्मिक अनुष्ठान समापनको पूर्व सन्ध्यामा झापा लगायत विभिन्न क्षेत्रबाट आउने धर्मअनुरागीहरुले पितृका नाममा रातभर दीप प्रज्वलन गर्दै जागरम बसेका थिए ।

चुनावको चटारोलाई छिचोल्दै समूहगत रुपमा दीप प्रज्वालन गर्न आएका सुनसरी चकरघट्टीका धनबहादुर थापा रातभरि जागरम बसे ।

माता खसेको वार्षिक नपुग्दै सेतो लुगामा देखिएका थापा पितृका नाममा यसरी दीयो बाल्दा स्वर्गमा बास हुने सन्देश भएको हुँदा आफू लगायत छरछिमेकीहरु अर्जुनधारा आएको बताए ।

उनीमात्र होइन, मोरङ रंगेलीका राम महत्तो पनि दीप प्रज्वलन गर्न आइपुगेका थिए ।

सुरुसुरुमा उनी माला प्रसादी बेच्न अर्जुनधारा आउने गर्थे । उमेर ढल्किदै जाँदा व्यवसाय छाडेपछि वर्षमा एक पटक अनुष्ठानका दिन दीप प्रज्वलन गर्न आउने गरेको बताउँछन् ।

४० औं अनुष्ठानको मुख्य आकर्षक गंगाआरतीसँगै मीठास भजनले धेरै मानिसहरुलाई नजिक ल्याएको छ भने धार्मिक मेलाले भने युवा वर्गहरुलाई आकर्षक तुल्याएको देखिन्छ ।

दीप प्रज्वलनको शुभ विहान मंगलबार शिव कुण्डमा स्थानन गरि सतबीज छर्दैै पितृहरुलाई सम्झेका थिए ।

सतबीज छर्न अघिल्लो दिन नै झापा लगायत विभिन्न जिल्लाबासीहरु सहभागि भएका थिए ।

जलेश्वरधामको व्यवस्थापन समितिले सबै क्षेत्रलाई राम्रै व्यवस्थापन गरे पनि बाहिरबाट आउने माग्नेहरुलाई भने व्यवस्थापन गर्न सकेनन् ।

शनिश्चरे क्षेत्रका होटल व्यवसायी बिनोद श्रेष्ठका अनुसार माग्नेहरुको नायिकेले गाडी गाडीमा ल्याएर धाम अगाडि छाडिदिने एक घण्टापछि कसको कति रकम भयो भनेर ति नायिकेहरु आएर चियो चर्चा गर्दा माग्नेहरुको पनि नायिके भएको आफ्नो फेसबुकमा व्यक्त गरेका छन् ।

स्वयमसेवकका रुपमा रहेका स्वस्तिका शिशु सदनका एनसीसी, स्काउटका विद्यार्थी, शनिश्चरे प्रहरी चौकी, इलाका प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा व्यवस्थापनलाई सहज बनाए पनि दीप प्रज्वलन गर्न आउने धेरै जसो धर्मानुरागीका लागि पण्डालको व्यवस्थाको अभावले केही गुनासो राखेका थिए ।

यो वर्ष दीप प्रज्वलनसँगै सयौंले सत्बीज छर्दा र धर्मानुरागीको आगमनले एक रात एक दिन भए पनि साघुरो महशुस भएको भक्तजनहरुले पोखेका थिए ।

धाम समितिले सुरक्षा व्यवस्थापन भए पनि दुले चोरको बिगबिगी भने त्यतिकै रहेको थियो ।