भ्रष्टाचारलाई घृणा गरौं « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

भ्रष्टाचारलाई घृणा गरौं


यलम्वर टाइम्स
२६ मंसिर २०७९, सोमबार १०:१२

सुख, सयल र अभाव टार्ने बहानामा राज्य वा समाजको आर्थिक नजराना कुम्ल्याउनेहरुको संख्या नेपालमा फैलिदै गएको छ । विशेष गरी आर्थिक कुम्ल्याउनेहरुको संख्यामा सत्तामा रहेका बेला दलका आसेपासे र नातावादबाट हुँदै आएको हुनाले मुलुक नराम्ररो गरि भ्रष्टाचारको जालोमा फस्दै गएको हामी पाउँछौं । परिवर्तनको संघारबाट अधिकार वडासम्म आएपछि वडादेखि सिंहदरबारसम्म भ्रष्टाचारको गन्ध आउन थाल्यो ।

शुक्रबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस हो । त्यस दिन मुलुकका प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले भ्रष्टाचारलाई अन्त्य गर्न कठिन हुँदै आएको बताए । प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेका देउवाले मुलुक भ्रष्टाचारबाट उकास्ने कुरामा जोड दिनुभन्दा पनि दलदलमा फसेको हुनाले उठाउन कठिन भएको अभिव्यक्तिबाट दलका आसेपासेबाटै मुलुक फसेको महसुस गर्न सकिन्छ । दलले भ्रष्टाचार गर्यो भने, कार्यकर्ताले पनि आर्थिक अपचलनमा लागि पर्यो भने त्यसको प्रत्यक्ष असर सर्वसाधारण जनतालाई पर्न जान्छ । एक पटक निर्वाचन गर्दा १५ देखि २० प्रतिशत महंगी बढ्ने हाम्रो मुलुकमा यसरी नै दलका आसेपासेबाट भ्रष्टाचार र अनियमियतता गर्दै जाने हो भने एक सातामा एक प्रतिशतले मंहगी बढ्दै गएको देखिन्छ । नेपाल आयल निगममा भएको घोटालाले एकै सालमा ७० प्रतिशत पेट्रोलको भाउ बढ्नु भ्रष्टाचार भएको सामान्य उदाहरण हो । यसअघि मंहगी एक प्रतिशत बढ्दा दलका भातृ संगठनहरु कराउथे, चोक र शहरमा टायर बालिन्थ्यो । सिंहदरबारका वरिपरि कुर्लिने गरेका थिए । हिजोआज १५ प्रतिशतमात्र होइन ५० प्रतिशत मूल्य वृद्धि हुँदासम्म दलका भातृ संगठनहरु तै चुप मै चुप भएर बसेको देख्दा अचम्म लागेर आउनु स्वाभाविक ठानिन्छ । किनभने ति भातृ संगठनका नायिकेहरु हिजोआज ठेक्कापठ्टा र मागिखाने कार्यमा लिप्त भएको कारण भ्रष्टाचारले फैलिने बाटो पाएको प्रष्ट छ ।

यसरी भ्रष्टाचार बढ्नु नेपालीको सोझोपनालाई लत्याउनु हो । नागरिक समाजले भ्रष्टाचारको फेयरिस्त बताउँदा पनि दलहरु मुखमा बुच्चो लगाएर बस्नु, कानुन नाङ्लो ठटाएर हात्ती तर्साए जस्तो गर्नुले नेपाली जनता आजित हुन पुगेका छन् । दिनहुँ यस्तो भ्रष्टाचार बढ्दै जाने हो भने नेपालका प्रत्येक नागरिकहरु कंगालमात्र होइनन् मुलुक नै नउठ्ने गरि फस्ने निश्चित छ । केन्द्रबाट भ्रष्टाचार न्यूनिकरण गर्न असफल भइरहेको बेला अब जनस्तरबाट नै भ्रष्टाचार न्यूनिकरणका लागि आवाज बुलन्द गर्दै भ्रष्टाचार रहित वडाका नाममा चर्चा चलाउनु आवश्यक देखिन्छ । भ्रष्टाचार र भ्रष्टाचारीलाई समाजबाटै घृणा गरौं । यही उत्तम हुन जान्छ ।