घरेलु मदिरा ब्राण्डिङ निर्देशन समितिलाई थप मजबुद बनाउन तीन संयोजक तोकियो « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

घरेलु मदिरा ब्राण्डिङ निर्देशन समितिलाई थप मजबुद बनाउन तीन संयोजक तोकियो


यलम्वर टाइम्स
२८ मंसिर २०७९, बुधबार १०:०९

बिर्तामोड । प्रदेश सरकार अन्तर्गत घरेलु मदिरा ब्राण्डिङ निर्देशन समितिले घरेलु मदिरालाई अझ व्यवस्थित र मर्यादित ढंगमा लैजानका लागि निर्देशन समितिको मातहतमा रहने गरि तीन जनालाई संयोजक तोकेको छ ।

प्रदेश नं. १ निर्देशन समितिका सदस्य खेसेहाङ खजुमको अगुवाईमा तीन संयोजक छानिएको हो ।

परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समितिमा रहि प्रचार संयोजक रहेर काम गरेका अग्रज पत्रकार दिपीन राईलाई जनसम्पर्क समितिको संयोजक तोकिएको छ भने प्रवद्र्धन समिति पाँचथरका अध्यक्ष दिलेन्द्र कुरुम्बाङलाई बजारीकरण र प्रवद्र्धन समितिका सल्लाहकार समेत रहेर काम गर्दै आएका देशु वनेमलाई उत्पादन सम्बन्धि संयोजक तोकिएको ब्राण्डिङ निर्देशन समितिका सदस्य सरु सिङ्गकले जानकारी दिइन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफलमा राई, कुरुम्बाङ र वनेमलाई संयोजक तोक्दै काम अगाडि बढाउन समेत अनुरोध गरिएको सिङ्गकले जानकारी दिइन् ।

१० महिनाअघि परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति प्रदेश नं. १ ले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम लगायतका जिल्लामा समिति निर्माण गरिसकेको छ ।

पहिचान पनि रहने, व्यापार व्यवसायसँगै प्रदेश नं. १ कै आयआर्जनको रुपमा अगाडि बढाउने भन्ने प्रवद्र्धन समितिको मुख्य लक्ष्यलाई सम्बोधन गर्दै प्रदेश नं. १ सरकारले तीन महिनाअघि घरेलु मदिरा ब्राण्डिङ निर्देशन समिति गठन गरेको थियो ।

प्रदेश १ सरकारको मातहतमा रहने गरि गठन गरिएको निर्देशन समितिले प्रवद्र्धन समितिका संयोजक खेसेहाङ खजुम र सदस्य सरु सिङ्गकलाई समितिको सदस्य नियुक्ति गरिएको थियो ।

केही दिनअघि निर्देशन समितिको बैठकले तीन जना संयोजक तोकेर प्रतिवेदन पेश गर्नु भनी दिएको निर्देशन अनुसार संयोजक तोकिएको अध्यक्ष खजुमले जानकारी गराएका थिए ।

प्रदेश नं. १ का १४ वटै जिल्लामा परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति गठन गर्नुपर्ने भए पनि भोजपुर, संखुवासभा, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा बाँकी रहेको हुँदा उक्ता जिल्लाहरुमा पुस २० गतेभित्र समिति निर्माण गरि भेलाको आयोजना गरिने समेत अध्यक्ष खजुमले जानकारी गराए ।