सहारा साकोस २६ औं वार्षिक साधारणसभाको पूर्व सन्धामाः विश्वस्तरमा सञ्जाल विस्तार गर्ने लक्ष्य « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

सहारा साकोस २६ औं वार्षिक साधारणसभाको पूर्व सन्धामाः विश्वस्तरमा सञ्जाल विस्तार गर्ने लक्ष्य


यलम्वर टाइम्स
८ पुष २०७९, शुक्रबार १३:०९

चारपाने । देशकै अगृणी वित्तीय संस्थाको परिचय बनाउन सफल सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

वार्षिक साधारणसभालाई लक्षित गर्दै शुक्रबार कार्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा २६ बालिकाको हातबाट उक्त प्रतिवेदनको सार्वजनिक गरिएको हो ।

प्रतिवेदन सार्वजनिक गरिसकेपछि संस्थाको गतिविधिका विषयमा बोल्दै कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आफ्ना सदस्य र समुदायप्रतिको लगाब र उहाँहरुकै मायाको कारण सहारा नेपाल मुलुककै पहिलो र उत्कृष्ट संस्थाको रुपमा उभिएको बताए । उनले संस्थाको वृद्धि विकाससँगै संस्थामा आवद्ध आफ्ना सदस्यहरुको अभिभावकत्व ग्रहण गर्दै स्तरोन्नति गर्नु दायित्व भएको बताए ।

कार्यक्रममा संस्थाले प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको निर्देशन अनुसार ९६ स्थानमा एकाई साधारणसभा सम्पन्न गरिसकेको, विश्व बजारमा परेको आर्थिक मन्दी र नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेको अवस्था पनि संस्थाले सहज ऋण लगानी र सदस्यहरूको बचतको पूर्ण सुरक्षा प्रदान गर्दै आएको, संस्थाको शेयर पूँजी १ अर्ब ६३ करोड १६ लाख, जगेडा कोष १ अर्ब ११ करोड ११ लाख, अन्य कोष ४४ करोड ७१ लाख, बचत १ अर्ब २५ करोड ३६ लाख लगानीमा रहिरहेको ऋण १ अर्ब, भौतिक सम्पत्ति ४१ करोड १६ लाख र बाह्य ऋण १ अर्ब ७२ करोड रहेको बताए ।

आर्थिक बर्ष २०७८÷०७९ असार मसान्तसम्मको संस्थाको वासलात १५ अर्ब ३८ करोड पुगेको छ । संस्थाले यसवर्ष ४९ करोड ७७ लाख खुद नाफा गरेको जनाइएको छ । सदस्यलाई लाभास र संरक्षित पुँजी फिर्ता कोषबाट ३० करोड १५ लाख बितरण गरिने भएको छ । 

संस्थाले विश्वस्तरमा सञ्जाल निर्माण गर्ने, रोजागर शाखा स्थापना गर्ने, व्यवसाय सञ्चालन र अति विपन्नलाई माथि ल्याउन पहल गर्ने जस्ता कार्यक्रम ल्याइएको गिरीले जानकारी दिए ।

संस्थालाई आर्थिक रुपमा थप सशक्त बनाउन गत वर्ष ६ संस्थासँग मर्च गरिएको जानकारी दिँदै एकीकरण प्रक्रियालाई अगाडि बढाउने, चालु आ.व. मा ८९ वटा सेवा केन्द्र, १ लाख ७५ हजार सदस्य र १७ खर्बको वासालात बनाउँदै ६२ करोड नाफा गर्ने लक्ष्य राखेको छ । संस्थामा हाल ७९ सेवा केन्द्र र १ लाख ५९ हजार ७७८ शेयर सदस्य रहेका छन् ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महिला उपाध्यक्ष पवित्रा सुब्बाले गरेकी थिइन् । कार्यक्रममा प्रथम उपाध्यक्ष छबिलाल खतिवडा, द्वितीय उपाध्यक्ष ज्ञानुनाथ मैनाली, कोषाध्यक्ष डम्बरबहादुर देउजा, सदस्य पार्वता गिरी, बिन्दु श्रेष्ठ, संस्थाका निर्देशक लक्ष्मण खतिवडालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका उप–निर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए ।