मिस तामाङ वल्र्ड प्रतियोगिताको दोस्रो संस्करण हुने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

मिस तामाङ वल्र्ड प्रतियोगिताको दोस्रो संस्करण हुने


यलम्वर टाइम्स
१० पुष २०७९, आईतवार ०९:५२

बिर्तामोड । मिस तामाङ वल्र्ड प्रतियोगिता २०२२ हुने भएको छ ।

तामाङ जातिको भाषा, कला संस्कृति, बाजा र भेषभुषाको संरक्षण गर्दै युवा पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको मिस तामाङ वल्र्ड फाउण्डेशनका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए ।

आइतबार बिर्तामोड स्थित होटल किङ्सबेरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोक्तानले शारीरिक सौन्दर्यतालाई मात्र नभई तामाङ जातिको पहिचान, संस्कार संस्कृतिसँगै वौद्धिक क्षमताको वृद्धिविकासका लागि प्रतियोगिता गर्न लागिएको बताए ।

उनले साधना कला केन्द्रमार्फत सन् २००६ बाट मिस तामाङ नेपाल प्रतियोगिता हुँदै आए पनि गत संस्करणबाट भने मिस तामाङ वल्र्डको सुरुवात गरिएको बताए । उनका अनुसार यो दोस्रो संस्करण हो ।

एक करोड ४ लाख रुपैयाँको बजेटमा हुन लागेको उक्त प्रतियोगितामा नेपाल, भारत, अष्ट्रेलिया, अमेरिका, जापान लगायतका देशबाट सहभागिता रहने जनाइएको छ ।

आयोजकका अनुसार हालसम्म नेपालबाट ४१ र भारतबाट १९ जनाले प्रतियोगिताको लागि फारम भरिसकेका छन् । फारम भर्ने अन्तिम मिति भने पौष १५ गते रहेको छ ।

प्रतियोगिताका लागि भारतको सिक्किम, सिलिगुढी र नेपालको काठमाण्डौमा प्रत्यक्ष अडिसन गरिने र अन्य स्थानमा भर्चुअल अडिसन गरिने फाउण्डेशनका महासचिव अदिप तामाङले जानकारी दिए । उनका अनुसार अडिसन पौष १९ गतेदेखि २१ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले नगद नेपाली रु १० लाख प्राप्त गर्ने छन् । प्रतियोगिताको ग्राण्ड फिनाले फेब्रुवारी ११ तारिकमा सिलिगुढीमा हुनेछ ।

सोही अवसरमा तामाङ जातिबाट सांसद र जनप्रतिनिधि बनेको भन्दै झापा १ ‘क’का प्रदेश सांसद गोपाल तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङलाई सम्मान गरिएको थियो ।

अध्यक्ष मोक्तानको सभापतित्वमा भएको कार्यक्रममा संगीत साधक कृष्ण योञ्जन, मिस तामाङ सहयाक निर्देशक फुर्वा लामा, मिस तामाङ वल्र्ड २०२१ की विजेता साङ डोमा तामाङ लगायतको आतिथ्य रहेको थियो ।

फाउण्डेशनका उपाध्यक्ष सुरेन्द्र मोक्तानले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तिलक योञ्जनले गरेका थिए ।