पत्रकार र सुर्खेत केन्द्रीय साधारणसभा « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

पत्रकार र सुर्खेत केन्द्रीय साधारणसभा


यलम्वर टाइम्स
११ पुष २०७९, सोमबार ११:०९

[दिपीन राई]

हजुर पत्रकारिता गरेको तीन दशक पो पार भइसकेको छ त ! अझै पनि उद्घाटन, सामान्य छलफल अनि घोषणापत्र निकालेर सभा सम्पन्न गर्ने हो भने त्यसले पत्रकारिताको उर्जालाई स्खलित गर्दै पेशाप्रति नकारात्मक भाव या गर्दै आएको कामप्रति वितृष्णा जाग्ने बाहेक अरु केही हुन सक्दैन ।

कुरा सुर्खेतमा सम्पन्न नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषदको सम्मेलनको हो । झापाबाट उत्साहित मन हुँदै हाम्रो टोली सुर्खेत पुगेको थियो । उमेरले मात्र होइन विचारले परिपक्क पत्रकारहरु नै थियौं । धेरै आशा र कामको उर्जासँगै अधिकारका कुराहरु उठाइने र उठ्नेछ भन्दै यात्रामा भोगिएका पीरमार्कालाई पन्छाउँदै २७ घण्टापछि हाम्रो टोली सुर्खेत पुगेको थियो ।

प्राध्यापक तथा साझा मञ्च अनलाइनका सम्पादक गोपाल काफ्लेले यात्राकै क्रममा अब उप्रान्त राष्ट्रिय परिषद सदस्य भएर यसरी पत्रकारहरुको माहोलमा पुग्ने काम यो नै अन्तिम हुन सक्छ साथीहरु भनेर यात्रालाई गम्भीर बनाइरहँदा मेरो मनमा कस्तो कस्तो हुन पुग्यो । त्यही शब्दले घोचिरहेको बेला पत्रकार महासंघ राष्ट्रिय परिषदको सम्मेलन पनि त्यसरी नै सकिनुले सम्पादक काफ्लेको भनाई सार्थक नै सावित भयो । उनले फर्किने क्रममा पनि भनेका थिए, ‘राष्ट्रिय परिषदको सदस्य भएर यसरी भेलामा सहभागि भएको ६ पटक भयो, तर यो पटक जस्तो अमिलो यसअघिको सम्मेलनमा भएको थिएन ।’

यात्रामै लामो समय रेडियोमा आवद्ध भिमा शिवाकोटी सम्मेलनको उत्साह कस्तो होला भन्ने सोचमा बाँधिएको हुँदा सम्मेलनप्रति प्रतिक्रिया चाँडै दिन सक्नु भएन । यात्रामै थियौं, पति बियोगले छोइरहेको मेची टाइम्सको सम्पादक सुशिला संग्रौला बेला–बेलामा महिला अधिकारका विषयमा तड्कारो रुपमा आफ्नो भावना पोखिरहेकी थिइन् । नारीमाथि गरिने कुदृष्टि एउटा प्रमुखबाट हुन्छ भने त्यस्ता प्रमुखबाट के आशा गर्ने ? व्याङ्ग्यात्मक रुपमा एक मिडियाका अग्रजलाई घोचिरहेका थिए । ६ गतेबाट सुरु भएको हाम्रो यात्रा ७ गते साँझ ७ बजे सुर्खेतमा पुगेको थियो । हाम्रो स्वागतमा झापा शाखाका सभापति एकराज गिरी पर्खिरहेका थिए ।

अधिराज्यभरिका करिब ६ सय बढी परिषद सदस्यहरु ८ गतेका दिन मंगलगडी चोकमा ८ बजे शान्ति यात्राका लागि तयारी थिए । मंगलगडीबाट ३ किलोमिटर मास्तिर बीरेन्द्र चोक हुँदै सुर्खेत सभागृहमा प्रवेश भयो । बाटोमा महासंघका अग्रज व्यक्तित्वदेखि शाखा सभापति हुँदै परिषद सदस्यहरुको उत्साह मनसँगै यात्रा सुरु भयो । करिब साढे ९ बजे हामी सुर्खेत सभागृहमा प्रवेश गर्यौं । उक्त हलमा थुप्रै सहकर्मीहरुसँग भेटघाट भयो । पत्रकारिता सुरु गरेका बेलका साथीहरु त्यसदिन भेट्दा सेताम्मे केश फुलेका शरीरमा बुढोपन देखिने तर पुरानै शैलीका साथीहरुसँग भलाकुसारी गर्दा अधिकांश साथीहरु लही लही मै जीवन बितेका कथाहरु सुनाउन सुरु गरे ।

सबैको मन बुढो हुँदै जाँदा आशाको दीयोतर्फ केन्द्रीत हुँदोरहेछ । महासंघले के नै गर्छ ? भन्दै बसेका अग्रजहरु पनि उत्साहित रुपमा सहभागि थिए । वरिष्ट पत्रकार किशोर नेपालदेखि शिव गाउँलेहरु पनि केही गर्नुपर्छ र राज्यले केही दिन सक्नुपर्छ भन्ने अभिव्यक्ति दिएको सुन्दा दीयो अझै बलिरहन्छ भन्ने भावना सबैमा पैदा भएको थियो ।

खचाखच पत्रकारहरुको उपस्थिति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि भएर आउने भनेपछि सुरक्षा निकै कडा थियो । सुरक्षाकै कारण प्रवेशमा लामबद्ध हुनुपर्ने अवस्था थियो । करिब १ घण्टाको लाइन कुर्दै हल प्रवेश गर्यौं । भनेको समयमा प्रमुख अतिथि राष्ट्रपति भण्डारीको उपस्थिति नहुँदा कार्यक्रम सुरु भयो । उद्घाटनको औपचारिक कार्यक्रम आधी हुँदा राष्ट्रपतिको उपस्थितिले मन त खल्लो बनाएकै थियो । उद्घाटनसँगै राष्ट्रपति भण्डारीले पत्रकारहरुलाई दिएको अर्तीले सबैको मन खल्लो बनाएको थियो । युट्युबरले पत्रकारहरुलाई दिएको चुनौति खुलेरै मन्तव्यमा भनिन् । पत्रकारलाई जस्तै आचरसंहिता युट्युबरहरुलाई लगाउन पर्छ भन्ने शब्दहरु ओकल्न कञ्जुस्याईं गरिनन् ।

राष्ट्रपति भण्डारीले बोल्दै जाँदा पत्रकारहरुलाई आचरसंहिताभित्र रहेर मर्यादित पेशा अपनाउन वाञ्छनीय भएको बताउँदै उनले अग्रज पत्रकारहरुलाई पत्रकारको सेनानी भनेर सम्मान गर्न भ्याइन् । कार्यक्रममा नेकपा माओवादीका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले दल एक्लैले सरकार बनाएर लामो समय टिक्ने अवस्था छैन । गठबन्धन गरेर पनि टिकिदैन । विदेशी इशारा र सहयोग बाहेक केही हुन सक्दैन त्यसैले तपाईहरु नेपाली जनता र नेपाली माटोको माया गर्दै कलम चलाउन आग्रह गर्दछु भनेपछि हल स्तब्ध हुन पुग्यो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनकुमार शाही र एमालेका लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आआफ्नै पार्टीका डम्फु बजाएर अर्ती उपदेश दिँदै फर्किए । किशोर नेपाल, हरिहर विरहीले पत्रकारिताको भावना र जनताले आशा गरेका विषयमा प्रतिवद्ध हुन भनी आशिर्वाद दिए । सभापति विपुल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ट उपाध्यक्ष रमेश विष्टले गरेका थिए ।

समग्रमा उद्घाटन समय पत्रकारहरुका लागि चुनौतिका भाषाहरु अभिव्यक्ति हुँदा ८ गते कै बन्दसत्रमा राष्ट्रिय परिषदका धेरै सदस्यहरु रुष्ट भएर आयोजक केन्द्रीय समितिमाथि आक्रोश पोखे । बन्दसत्रमा महासंघका महासचिव रोशन पुरीले महासंघले गर्दै आएको र गर्ने करिब १० पेजको प्रतिवेदन सान्दार रुपमा प्रस्तुत गर्दा उपस्थित सदस्यहरु नडगमगाइ प्रतिवेदनमाथि केन्द्रीत थिए । कोषाध्यक्ष र लेखाको प्रतिवेदनमा भने प्रश्न बर्सिएको थियो । बन्दसत्रमा कार्यक्रम सञ्चालक डा. सुरेश आचार्यले बोल्ने समयअवधि २ मिनेटमात्र दिएपछि पेलेरै राष्ट्रिय परिषदका सदस्यहरुले ५ मिनेटभन्दा बढी आफ्ना धारणा राखेका थिए । बन्दसत्रमा झापाको प्रस्तुति कम थिएन । एकराज गिरी, रोजिना रोदन, ज्ञानेन्द्र निरौला, गोपाल काफ्लेले सतही रुपमा पत्रकारिता नचल्ने अवस्था आएको बेला पत्रकार महासंघ जस्ता संस्था पत्रकारलाई चलायमान गराउनका लागि दिनुपर्ने उर्जाका विषयमा आफ्ना भनाई राखेका थिए । आफ्ना विचार राख्ने अधिकांश परिषद सदस्यहरु पत्रकारितामा परिपक्कता भएको अभिव्यक्तिहरु व्यक्त गरेका थिए । महासंघले कसले के बोल्दैछ भन्ने टिप्पणीकार समेत नराख्दा बन्दसत्र कसले के बोल्दैछ भन्ने महासंघ केन्द्रलाई हेक्का नहुन सक्छ । तर, महासचिव पुरीले प्रस्तुत गरेको प्रतिवेदनमा आम सञ्चारका अधिकार, गर्नुपर्ने भूमिका र राज्यले सञ्चारमाथि गर्नुपर्ने कामका विषयमा प्रस्ट थियो । रातिको करिब ११ बजेसम्म चलेको बन्दसत्रले भोलीपल्ट १० बजेसम्म सुर्खेत घोषणापत्र जारी गर्दै सभा सम्पन्न भएको थियो ।

देशभरिका करिब ६ सय लेखक तथा पत्रकारहरुको उपस्थिति रहँदा कर्णाली प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक कला संस्कृतिको प्रदर्शन हुनुपर्नेथ्यो, त्यो हुन सकेन । चित्रमा प्रदर्शन गरिएतापनि सहभागि पत्रकारहरुले भेषभुषा, कला संस्कृति देखाउन सुर्खेत पछिपरेको प्रतिक्रिया दिए ।

हाम्रो यात्रा पूर्व फर्किनुभन्दा पहिला सुर्खेतका चर्चित पर्यटकीय क्षेत्र अवलोकन गरिएको थियो । सुर्खेतको बुलबुले तालदेखि काँक्रेबिहार, देउकी बजु मन्दिरसम्मको यात्रामा हाम्रो बाटाका पीडाहरुलाई बिर्साएको थियो । आफ्नै विशेषतामा रहेका ती मन्दिरहरु जो कोही सुर्खेत पुग्दा दर्शन गर्न जाने गरेको पायौं । ९ गतेकै दिन हाम्रो यात्रा पूर्वतर्फ हुइकियो । १०ः३० बजे काठमाण्डौमा विशेष काम परेकाले शाखा सभापति एकराज गिरी सुर्खेत हुँदै जहाजमा काठमाण्डौ लागे । अस्वस्थका बाबजुत सुर्खेत पुगेका गिरीले शाखाबाट सहभागिहरुको हेरविचारमा सहजता अपनाएका थिए ।

करिब ११ः४५ मा हामी पूर्वतर्फ लाग्यौं । फर्कने क्रममा गाडीभित्रै सम्मेलनको समिक्षा भएको थियो । समिक्षामा प्रमुख अतिथि बनाइएकी सुशिला संग्रौलाले सम्मेलन फलदायी नै रहेको टिप्पणी गर्दै सुधानुपर्ने कामका विषयमा व्याख्या गरेकी थिइन् । गाडीभित्रकै समिक्षा कार्यक्रमका सभापति भिमा शिवाकोटीले बन्दसत्रमा महिलाहरुले बोलेको शब्द सुन्दा महिला नेतृत्व निर्माण भएको बताइन् । यसरी नै प्रत्येक शाखामा महिला सशक्त भएर अगाडि बढ्न जरुरी रहेको छ । यात्रामा गाडी चालक रोहित मण्डल र बेला बखत यात्रालाई सहजतामा उभ्याउन यात्रा संयोजक केशव भट्टराईको प्रस्तुतिले थप रोचक बनाएको थियो । यस्तै रह्यो ५ दिने यात्रा र सुर्खेतमा भएको पत्रकार महासंघको राष्ट्रिय भेला ।