महिला चेतना बहुउद्देश्यीयको प्रशंसा « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

महिला चेतना बहुउद्देश्यीयको प्रशंसा


यलम्वर टाइम्स
१६ पुष २०७९, शनिबार ०४:२०

[दीपसन राई]

मिलडाँडा । गाउँमा रहेर गाउँले महिलाहरुलाई उजागर गर्दै स्थापित भएको महिला चेतना बहुउद्देश्यीय सहकारीको प्रशंसा भएको छ ।

शुक्रबार १८ औं वार्षिक साधारणसभा आफ्नै हलमा सम्पन्न गर्दै प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले समूहको सभालाई नियाल्दै प्रशंसा गरेकी हुन् ।

१८ वर्षअघि महिलाहरुको उत्साहित मनबाट सुरु गरिएको यस संस्था यहाँसम्म आउँदा कृषिमात्र होइन उद्यमशिलतासँगै आर्थिक समृद्धिको पाटोमा अहम् भूमिका खेलेको प्रतिवेदनले उल्लेख गरेको समेत उपप्रमुख पराजुलीले बताइन् ।

चुस्त व्यवस्थापन, आर्थिक पारदर्शीता र वार्षिक कार्ययोजना अनुसार संस्था अगाडि बढेको हुँदा उपस्थित अतिथिहरुले चेतना बहुउद्देश्यले खेलेको भूमिका प्रति खुलेरै प्रशंसा गरे ।

विशेष अतिथि वडा नं. ७ का अध्यक्ष गोविन्द खतिवडाले विश्वासीलोपनको आधार महिला चेतना समूह भएको बताए । कार्यक्रममा संस्थाका प्रबन्धक उमा थापाले २ करोड ३२ लाख १३ हजार ४ सय शेयर पूँजी भएकोमा संस्थाले शेयर सदस्यहरुलाई आयआर्जनको बाटो देखाउँदै अगाडि बढ्दा खुद नाफा ३३ लाख २४ हजार ८ रुपैयाँ रहेको बताइन् ।

महिलाद्वारा सञ्चालित संस्थाले सुत्केरी पोषण, दशकर्म तथा राहत सुविधा, दैविक विपत्ति, शेयर लाभांस जस्ता कार्यहरु भएको पनि बताइन् । सदस्यको योगदानमा आधारित उपचार कोषलाई प्रभावकारी बनाउन कार्ययोजना सारेको बाली बिमा, बचत नीति, शेयर नीति र ऋण नीतिलाई अगाडि बढाइएको पनि बताइन् ।

समूहका अध्यक्ष निलाकुमारी दाहालको सभापतित्वमा भएको कार्यक्रममा अर्जुनधारा–४ का वडाध्यक्ष अम्मर कटुवाल, श्रद्धा सहकारीका अध्यक्ष प्रेमसागर सापकोटा, पशु सेवा शाखाका प्रमुख पदमलाल राई, समाजसेवी केदार पराजुली, राष्ट्रिय सहकारी संघका देवीप्रसाद बराल, पूर्व वडाध्यक्ष नवराम ढुंगाना, समाजसेवी धर्मानन्द गुरागाई, देवकुमार राई, चिरञ्जीवि शिवाकोटी, पत्रकार इन्द्रकुमार राई, अमित खम्बू, दीपसन राई लगायतको आतिथ्य रहेको थियो । संस्थाकी सदस्य गंगादेवी कट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन गीता अधिकारीले गरेकी थिइन् ।