अर्जुनधारा नगरपालिकाको राजश्व भुक्तानी अब अनलाइनबाटै « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

अर्जुनधारा नगरपालिकाको राजश्व भुक्तानी अब अनलाइनबाटै


यलम्वर टाइम्स
१८ पुष २०७९, सोमबार ०८:२५

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा अब कर तिर्नकै लागि वडा कार्यालय तथा नगरपालिका धाउनुपर्ने बाध्यता हटेको छ ।

डिजिटल नेपालको अवधारणा अनुसार अर्जुनधारा नगरपालिकाले सेवाग्राहीका लागि अनलाइन भुक्तानी सेवा सुरु गरेपछि अब सम्बन्धित वडा कार्यालय वा नगरपालिकासम्म पुग्नुपर्ने बाध्यता हटेको हो ।

उपप्रमुखको कक्षमा एक कार्यक्रमको आयोजना गरि कर तथा राजश्वको विद्युतीय भुक्तानी (ई–पेमेट) सेवाको औपचारिक रुपमा शुभारम्भ गरिएको थियो ।

नगर प्रमुख बलदेव गोम्देनले उक्त अनलाइन सेवाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख गोम्देनले निर्वाचनको समयमा अर्जुनधारा नगरपालिकालाई प्राविधिक र प्रविधिमैत्री बनाउने प्रतिवद्धता पूरा हुँदै गएको बताए ।

उनले प्रविधिले कामलाई सहज र सरलता प्रदान गरे पनि प्रयोगमा आउने समस्यालाई फुकाउन प्रत्येक वडा तथा टोलमा पुगेर विद्युतीय भुक्तानी बारे करदातालाई शिक्षा दिन आवश्यक रहेको बताए ।

अनलाइन भुक्तानी सेवाले पारदर्शीता हुने, सेवाग्राहीको सहभागितामा वृद्धि र राजश्वको दायरामा पनि वृद्धि हुने प्रमुख गोम्देनको भनाइ छ ।

कार्यक्रममा अर्जुनधारा नगरले विद्युतीय भुक्तानी सुरु गरेपछि स्थानीय सेवाग्राहीले घरबाटै अनलाइनमार्फत कर तथा राजश्व तिर्न सक्ने नगरपालिकाका सूचना प्रविधि अधिकृत बिनोद खानाले बताए ।

उनले नगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति, भूमि, घरवाहल र व्यवसाय कर लगायतको राजश्व अनलाइन भुक्तानी सेवा प्रदायकको प्रयोग गरि भुक्तानी गर्न सकिने जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले खल्ती एप, प्रभु पे, आईएमई पे, ईसेवासँग सम्झौता गरि भुक्तानीलाई सहज बनाएको छ ।

सेवा बारे जानकारी दिँदै सूचना अधिकृत खनालले विद्युतीय भुक्तानीको सेवाले जहाँ बसे पनि नगरलाई तिर्नुपर्ने राजश्व अनलाइन एप्समार्फत समयमै भुक्तानी गर्न सकिने बताए । यसले करदाताले समयमा राजश्व भुक्तानी गर्न नसक्दा लाग्ने जरिवानाबाट जोगाउने बताए ।

अनलाइन भुक्तानीका लागि tax-arjundhara.softechnp.com अर्जुनधारा नगरपालिका करदाता पोर्टलमा रजिष्टर गर्न सकिन्छ ।

नगरपालिका र वडा कार्यालयको कर संकलन प्रणाली सफ्टवेयरमा करदाताको रुपमा दर्ता भएपछि सफ्टवेयरले जेनेरेट गरेको आफ्नो आधिकारिक ८ अंकको करदाता संकेत प्राप्त गरिसकेपछि मात्र पोर्टलमा युजर नेम र पासवर्ड प्रयोगपछि आफ्नो विवरण र कर भुक्तानी गर्न सकिने जनाइएको छ ।

झापा जिल्लाका १५ पालिकामध्ये विद्युतीय भुक्तानी गर्ने अर्जुनधारा दोस्रो हो । यसअघि कनकाई नगरपालिकामा सुरु गरिएको थियो ।

प्रमुख गोम्देनको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, वडाध्यक्षहरु, वडा सचिवहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडाका लागि तयार गरिएको क्यूआर कोड वडा नं. १ का वडाध्यक्ष उपेन्द्र बस्नेतलाई नगर प्रमुख गोम्देनले हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन प्रशासन शाखाका सौजन कटुवालले गरेका थिए ।