इलाम अस्पतालः विशेषज्ञ डाक्टर नहुँदा जनता मारमा « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

इलाम अस्पतालः विशेषज्ञ डाक्टर नहुँदा जनता मारमा


यलम्वर टाइम्स
३० पुष २०७९, शनिबार ०३:३७

इलाम । इलाम जिल्लाकै एकमात्र ठूलो सरकारी अस्पताल इलाम जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टर अभाव भएको बर्षौ बित्यो । तर डाक्टरको पदपूर्ती गर्ने बिषयमा कसैको पनि ध्यान गएको छैन ।

निर्वाचनको समयमा अस्पतालमा बिशेषज्ञ डाक्टरको पदपूर्ती गर्ने भन्दै नेताहरुले चुनावी एजेण्डा नै बनाउने गरेका छन् । यसै जिल्लाबाट निर्वाचन जितेर प्रधानमन्त्री, सभामुख भइसकेका नेताहरुले पनि कुनै चासो दिएनन् । जसको कारण इलामका नागरिकहरु उचित स्वास्थ्य सेवा पाउनबाट बञ्चित भइरहेका छन् । ५० शैया रहेको अस्पतालमा बिशेषज्ञ डाक्टरको दरबन्दि ९ रहेको छ ।

तर हाल दरबन्दि भएका स्त्री रोग बिशेषज्ञ र जनरल फिजिशियनका एक÷एकजना मात्र कार्यरत छन् । भौतिक संरचनामा ठूलो देखिने यस अस्पतालमा बिभिन्न किसिमका उपकरणहरु पनि प्रशस्त छ । तर दक्ष जनशक्ति नहुँदा केही उपकरण बाहेक धेरै उपकरण काम बिहीन अवस्थामा थन्किएको छ ।

अस्पतालमा ९ जना विशेषज्ञ डाक्टर सहित बिभिन्न पदका ५९ जनाको दरबन्दि छ । तर हाल दरबन्दिका २६ जना मात्र कार्यरत रहेका छन् । अस्पतालमा धेरै ६१ जना करारका रहेका छन् । बिशेषज्ञ डाक्टरकै अभावका कारण अस्पतालमा बिरामीको चाप अहिले अत्यन्त कम छ । सामान्य अवस्थाका बिरामीले पनि प्रभावकारी सेवा पाउन सकेका छैनन् ।

यहाँका नागरिकहरु सामान्य उपचार गराउनका लागि पनि महङ्गो रकम खर्चेर जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता छ । डाक्टर अभावकै कारण बिरामीले उचित सेवा पाउन नसक्दा इलाम अस्पताल रिफर सेन्टर नै बन्न पुगिरहेको अस्पताल प्रशासन शाखाका कर्मचारी कमलनिधि चापागाइँ स्वीकार्छन् ।

भौगोलिक हिसाबले इलाम जिल्ला अन्य पहाडी जिल्ला भन्दा सुगम मानिएपनि स्वास्थको हिसाबमा निकै दुर्गम जिल्लाकै रूपमा रहेको छ । दरबन्दी अनुसार डाक्टर नहुँदाको पिडा इलामे नागरिकले भोगिरहँदा भएका एकजना गाइनोका डाक्टरको पनि समय समयमा काम बिशेषले जिल्ला बाहिर जानुपर्दा बिरामी नआउँदा इलामकै एकमात्र ठूलो सरकारी अस्पताल सुनसान हुने गरेको छ ।

जसले गर्दा भिडियो एक्सरे सेवा पूणर् रुपमा बन्द हुन्छ भने भने अप्रेशन गरेर सुत्केरी गराउनुपर्ने अवस्थाका गर्भवतीलाई जिल्ला बाहिर लानुपर्ने बाध्यता छ । डाक्टर नहुँदा अन्य बिरामीलाई अस्पतालले जिल्ला बाहिरका अस्पतालमा रेफर गर्दै आएको छ ।

अस्पतालमा बिरामीले उचित सेवा नपाइरहेको र अस्पतालमा बेथितीले चरम सिमा नाघेको इलाम नगरपालिका ५ बिब्ल्याँटेका सुमन काफ्ले बताउँछन् । अस्पतालमा जिल्ला भित्रका मात्र नभएर छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ्गबाट समेत यहाँ सेवा लिन आउने गरेपनि प्रभावकारी स्वास्थ्य सेवा लिनबाट बञ्चित छन् ।

अस्पतालमा डाक्टरको मात्र हैन कर्मचारीको पनि अभाव छ । अस्पतालमा लेखापाल नभएको पनि महिनौ बित्यो । लेखापाल नहुँदा अस्पतालको हिसाब किताब राख्नका लागि जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रका लेखापाललाई प्रदेश लेखा नियन्त्रक कार्यालयले लेखापालको जिम्मेवारी दिएर खटाएको छ । यी दई कार्यालयको हिसाब किताब हेर्नका लागि निकै कठिन हुने गरेको अस्पतालका लेखापाल निरज पोख्रेलको भनाई छ ।

प्रदेश १ सरकारको मातहतमा रहेको यस अस्पतालमा दरबन्दि अनुसारको डाक्टर ल्याउनका लागि सम्बन्धित निकायहरुमा पटक पटक पहल गरेपनि सफल हुन नसकेको अस्पताल प्रशासनको दाबी छ ।

अस्पताल भित्रको काम गर्ने वातावरण राम्रो नभएका कारण पनि इलाममा डाक्टर आउन नमान्ने गरेको अस्पतालकै कर्मचारीहरु बताउँछन् । २०३० सालमा १५ शैयाबाट सुरु भएको यस अस्पताल २०७२ सालबाट ५० शैयामा स्तरोन्नती भएपनि प्रभावकारी स्वास्थ्य सेवा भने अस्पतालले दिन सकेको छैन ।