सरकार ! साना–साना समस्यालाई ध्यान देउ « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

सरकार ! साना–साना समस्यालाई ध्यान देउ


यलम्वर टाइम्स
२ माघ २०७९, सोमबार ०७:३६

समस्या नभएको स्थान छैन । त्यसमध्ये पनि सबैभन्दा बढी समस्या देखिएको स्थान ग्रामिण क्षेत्र नै हुन जान्छ । त्यसैले ग्रामिण भेगमा देखिएका साना–साना समस्यालाई प्राथमिकतामा राख्न जरुरी देखिन्छ । हिजो हामी ग्रामिण भेगमा बसोबास गरेका जनताका अगाडि अनेकौं आश्वासनका पोका फ्याँकेर मत अर्थात भोट मागेका छौं । सरकार निर्माण गर्न र विजय भएर कुर्सीमा विराजमान गराउने पनि ग्रामिण भेगका जनता नै हुन् । त्यसकारण पनि गाउँमा रहेका जनताको समस्यालाई मध्यनजर गर्न जरुरी देखिन्छ ।

सरकार ! सर्वहारा, किसान र सर्वसाधारण जनता ग्रामिण भेगमा नै बढी बसोबास गरेको अवस्था छ । ति जनतालाई यो बेला बीउबिजन, मल र सिचाईंको प्रचुर अभाव छ । दुःखले उत्पादन गरे पनि बजार पाइरहेको अवस्था छैन । बजार पाए पनि बिचौलियाको रगरगीले भने जस्तो मूल्य कृषकहरुले पाइरहेका छैनन् । यस्तो पीडादायी अवस्थमा कृषकहरु रहनुको कारण दोष कसलाई दिने ? यता पशुपंक्षी, दूध, सब्जी, मासु, सुपारी कृषकहरुको समस्या पनि उस्तै छ । त्यसैले त्यसतर्फ नजर पुर्याउनु पर्छ कि !

सरकार ! झापाकै १५ पालिका मध्ये अर्जुनधारा नगर बहुउद्देश्यीय सरकारी संस्थाले एउटा नमूना कामको थालनी गरेको उसले आफ्नो तथ्याङ्कमा उल्लेख गरेको छ । प्रथम साधारण सभामा भनेको छ, कृषकलाई धानको बीज उत्पादनसँगै खरिद गरिदिनाले प्रतिमन चार सय कृषकलाई नाफा भएको सन्देश छ । यस्तै–यस्तै कृषकलाई नाफा हुने कार्य भयो भने नगर समृद्धिको बाटोमा लम्कन सक्छ । त्यतिमात्र होइन, पशुपन्छी तथा मासू व्यवसायमा पनि ध्यान पुग्न सके नगर समृद्धिको बाटोमा जाने थियो । सडक, बत्ती, पाटीपौवा त राणाकालिन सरकारदेखि नै लगानी गर्दै आएको हो । त्यसकारण सरकार ! साना–साना समस्याप्रति ध्यान दिनसके परिणाम आउनेमा दुईमत नहोला कि !