एक्सेलको कर्मचारी संघमा लोहनी सर्वसम्मत « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

एक्सेलको कर्मचारी संघमा लोहनी सर्वसम्मत


यलम्वर टाइम्स
८ माघ २०७९, आईतवार ०६:२७

बिर्तामोड । नेपाल वित्तीय संस्था कर्मचारी संघ एक्सेल डेभलपमेन्ट बैंकको तेस्रो अधिवेशनले अध्यक्ष पदका लागि गोपाल लोहनीलाई सर्वसम्मत चयन गरेको छ ।

पेशागत हकहित र कार्यमा विशिष्टता ल्याउँदै सेवालाई थप सहज बनाउने उद्देश्यसहित स्थापित संघको अधिवेशनले लोहनीलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा चयन गरेको हो ।

बिर्तामोडमा आयोजित अधिवेशनले बरिष्ठ उपाध्यक्षमा भागवत ढुङगाना, उपाध्यक्षद्वयमा नविन संग्रौला र यामनाथ पौडेल चयन भएका छन् ।

समितिको महासचिवमा राजशंकर झा, उपमहासचिव राजन ढकाल र कोषाध्यक्षमा गजेन्द्र ढकाल चयन भएको प्रजित थापाले जानकारी दिए ।

यसरी नै समितिको सदस्यहरुमा निशा ओली आचार्य, निरज ढुङगाना, चन्दना भण्डारी र तेजप्रकाश न्यौपाने रहेका छन् ।

नवनिर्वाचित कमिटीका अध्यक्षले दुई सदस्य मनोनयन गर्ने उनले जानकारी दिए ।

२०६८ सालमा स्थापित भएर सक्रिय काम गर्दै आएको यस संघले विगत ११ वर्षदेखि बैंकको सुदृढीकरण तथा कर्मचारी हकहितका लागि काम गरिरहेको छ ।

कार्यबाहक अध्यक्ष भागवत ढुङगानाको सभपातित्वमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति अध्यक्ष यज्ञ प्रताप अधिकारीले गरेका थिए ।

उनले बैंक व्यवस्थापन र कर्मचारीहरुको सहकार्यको उदाहरण एक्सेल बैंक भएको भन्दै प्रशंसा गरेका थिए । प्रमुख अतिथि अधिकारीले बैंकहरुमा नगद तरलता नभइरहेको अवस्थामा एक्सलले आफ्ना सेवाग्राहीहरुलाई पुर्याइरहेको सहयोग उल्लेखीय रहेको बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले ट्रेड युनियनले संस्थाको हितमा सोच्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघका प्रदेश अध्यक्ष राम भट्टराई, उपाध्यक्ष यामनाथ पौडेल, मार्केटिङ बिभाग प्रमुख पङकज घिमिरे, मानव संसाधन बिभाग प्रमुख श्यामबहादुर बोहरा, आन्तरिक लेखा प्रमुख महेशमान प्रधान, कर्जा असुली बिभाग प्रमुख चन्द्रप्रसाद आचार्य, विजनेश बिभाग प्रमुख शिव गिरी, भवानी प्रसाई, होमबहादुर कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

पूर्वका ५ जिल्लामा बिस्तार भएको यो बैंकका ४४ शाखा रहेका छन् । बैंकमा हाल २ सय ६८ कर्मचारी कार्यारत रहेका छन् । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त यो बैंक पूर्वमा सफल बैंकको रुपमा पहिचान बनाएको छ ।