साविक खुदुनाबारीबाट वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै « Yalambar Times
१७ माघ २०७९, मंगलवार

साविक खुदुनाबारीबाट वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै


यलम्वर टाइम्स
८ माघ २०७९, आईतवार ०६:५६

खुदुनाबारी । कोरोना कहरपछि विदेश पलायन भएका युवाहरु स्वदेशमै आएर केही गरौं भनी व्यवसाय सुरु गरे तापनि मुलुकमा भएको आर्थिक मन्दी र व्यवसाय असुरक्षित भएपछि वैदेशिक रोजगारमा फर्किनेहरुको संख्या खुदुनबारीमा बढेर आएको छ ।

शैक्षिक अध्ययनको नाममा विद्यार्थीहरु पनि जानेहरुको लर्को त्यतिकै छ । छोरा होस् या छोरी अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानाडा र लण्डन जाने अर्जुनधारा–३ मा मात्र २९ जनाभन्दा बढी रहेका छन् ।

कोही १२ पास गरेर जान्छन्, कोही स्नातक गरेर जाने गरेको वडा नं. ३ का सचिव खगेन्द्र लिङ्देनले बताए । घरैपिछे बिरामी भए जस्तै अर्जुनधारा वडा नं. ३ खुदुनाबारीमा झण्डै सयभन्दा बढी युवाहरु विदेश पलायन भएका छन् ।

कोरोना कहरपछि स्वदेशमै केही गर्छु भनेर आए पनि मुलुकको अवस्था र व्यवसाय सुरक्षा नहुँदा झोली टुम्की बोकेर वैदेशिक रोजगारमा जानेहरुको संख्या पछिल्लो पटक बढेर गएको सचिव लिङ्देनले बताए ।

वृद्धवृद्धा बाबुआमालाई छाडेर जाने रहर त कसैलाई छैन । स्वदेशमा रोजगार नहुँदा विदेश जानुको अर्को विकल्प नरहेको स्थानीय श्याम कार्कीले प्रतिक्रिया दिए ।

अर्जुनधारा–३ निवासी कार्कीका छोरा पनि शैक्षिक अध्ययनका लागि विदेश जान तयार रहेका छन् । वडा नं. ३ मा मात्र होइन, वडा नं. १ मा पनि १६ जना शैक्षिक अध्ययनका लागि विदेश पलायन भएको कार्यालयकी मञ्जु भट्टराईले बताइन् ।

त्यसरी नै वडा नं. २ मा शैक्षिक अध्ययनका लागि १८ जना शिक्षित नागरिकहरु विदेश गएको तथ्याङ्क कार्यालयका सागर आचार्यले दिए । अर्जुनधारा वडा नं. १ र २ मा शैक्षिक अध्ययनका लागि बाहेक करिब एक सय ५० भन्दा बढी विदेशिएको बताइएको छ ।

अर्जुनधारा १, २ र ३ वडा (साविक खुदुनाबारी) हरियाली, उर्भरा क्षेत्र र जलाशय भएको स्थान भए पनि व्यवसायीहरुलाई भने जस्तो राज्यले सहयोग नगरिदिँदा विदेशिनु एकमात्र विकल्प भएको स्थानीय युवा धिरेन राईले प्रतिक्रिया दिए ।

स्थानीय, प्रदेश र संघ सरकारले कृषि तथा व्यवसायमा उचित व्यवहार र सहयोग नगरिदिँदा युवाले पलायनको बाटो रोज्नु परेको हो । अर्जुनधारा–३ कि बोर्ड सदस्य चन्द्रमाया तामाङले राज्यले आयमूलक स्रोतको बाटो पहिचानसँगै औद्योगिक क्रान्ति गर्न सके स्वदेशमै युवाहरु अडिनेमा दुईमत नरहेको बताइन् ।

शिक्षक पदम सुब्बाले हरेक कार्यमा समानुपातिक सहभागिता साथै राज्यले दिने अनुदान जनताको अवस्था हेरेर समान रुपमा प्रदान गरिदिए यो कष्ट युवाहरुले व्यहोर्नुपर्ने थिएन । तर नातावाद र कृपावादका कारणले रोजगारसँगै अनुदान दिने भएको हुँदा विदेशिनु बाहेक अर्को विकल्प नरहेको बताए ।