अर्जुनधाराको खेल मैदानमा २० गतेबाट वडास्तरीय यू–१८ फुटबल हुने « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

अर्जुनधाराको खेल मैदानमा २० गतेबाट वडास्तरीय यू–१८ फुटबल हुने


यलम्वर टाइम्स
९ माघ २०७९, सोमबार ११:५४

अर्जुनधारा । वडा कार्यालयको संयोजन तथा शनिश्चरे एफसीको आयोजनामा अर्जुनधारामा वडास्तरीय यु–१८ फुटबल प्रतियोगिता हुने भएको छ ।

मूल आयोजक समितिले आईतबार शनिश्चरेमा आयोजना गरेको पत्रकार सम्मेलनमा माघ २० गतेदेखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिइएको हो । अर्जुनधारा नगरपालिकामा ११ वटा वडा छन् ।

मूल आयोजक समितिका अध्यक्ष सुरेन राईका अनुसार वडा वडाबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । यस्तै, लागूऔषध दुव्र्यसनमा लाग्नबाट बचाउन पनि प्रतियोगिताले मद्दत पुराउने अध्यक्ष राईको भनाइ थियो ।

कार्यक्रममा बोल्दै झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले स्थानीय सरकारले गर्नुपर्ने प्रतियोगिता स्थानीय क्लबले गर्न लागेको बताउँदै यसमा जनप्रतिनिधि जिम्मेवार बन्न आग्रह गरे ।

स्थानीय सरकार जिममेवार बनेर अभिभावकत्व भूमिका निर्वाह गरेको खण्डमा उमेर समूहबाट अब्बल खेलाडी उत्पादन हुनेमा विश्वस्त रहेको उनले सुनाए । उनले प्रतियोगितामा फुटबल संघको तर्फबाट प्राविधिक सहयोग हुने आयोजकलाई जानकारी दिए ।

अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द खतिवडाले प्रतियोगिता सम्पन्न गर्नका लागि जनप्रतिनिधि सहकार्य गर्न तयार रहेको बताउँदै सकेसम्म सहयोग पुग्ने पनि प्रतिवद्धता जनाए । प्रतियोगिता सञ्चालन, खेलाडी उत्पादन र प्रशिक्षणको व्यवस्थाले निरन्तरता दिन आयोजकलाई उनको सुझाव थियो ।

कार्यक्रममा बोल्दै स्थानीय एवम् राष्ट्रिय खेलाडी विशाल राईले १८ वर्षमुनिका खेलाडीको प्रतियोगिता आयोजना गरेर शनिश्चरे एफसीले सराहनीय काम गरेको सुनाए । उनले स्थानीय सरकारसमक्ष प्राथमिकताका आधारमा खेल क्षेत्रमा पनि लगानी गर्नुपर्ने आग्रह गरे ।

यसैगरी, झापा जिल्ला खेलकुद विकास समितिका सदस्य सुरेन्द्र गिरी र क्लबका सल्लाहकार टेकराज तिलिङले प्रतियोगिता सम्पन्न गर्नका लागि व्यक्तिगत र संस्थागत सहयोग रहने आयोजकलाई जानकारी दिए ।

अर्जुनधारा खेलमैदानमा आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न ३ लाख ९० हजार खर्च लाग्ने अुनमान गरिएको कोषाध्यक्ष हरि गुरुङले जानकारी दिए । विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने छ ।