हुम्लामा हिउँ पर्दा कृषक खुशी « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

हुम्लामा हिउँ पर्दा कृषक खुशी


यलम्वर टाइम्स
१० माघ २०७९, मंगलवार ०८:४२

काठमाडौँ । हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हिउँ परेपछि यहाँका किसान निकै खुशी भएका छन् ।

हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरी हिउँ परेको हो ।

हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ । जिल्लाको माथिल्लो क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका अधिकांश ठाउँमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको छ भने तल्लो क्षेत्रका अधिकांश ठाउँमा करिब आधा फिट हिउँ जमेको छ ।

हिउँ परेपछि विशेष गरी किसान खुशी भएका छन्। हिउँदे मौसममा तापक्रम माइनसमा जाने भएकाले हिँउदेबालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।

हिउँदमा विशेष गरी जौँ, गहुँलगायत बाली लगाइन्छ। पानी नआउँदा बाली सुक्न थालेको थियो। अब सहज हुने भएको छ ।

अदानचुली गाउँपालिका वडा नम्बर २ का माने बुढाले हिउँ परेकाले अब हिउँदे बालीमा सप्रने बताए ।

हिमपात भएसँगै हुम्लामा जाडो बढेको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय हुम्लाका अनुसार यहाँको तापक्रम माइनस २ डिग्री रहेको छ ।

हिउँ नपर्दा भने तापक्रम झन् चिसो थियो। तीन दिनअघि हुम्लाको तापक्रम माइनस १० डिग्रीसमेत पुगेको थियो ।

बिहानैदेखि आएको निरन्तरको हिमपातले पशुचौपायाहरू गोठभित्रै बाँधिएका छन्। सोलारबाट सञ्चालित सम्पूर्ण सेवा अवरुद्ध भएका छन् ।

हुम्लामा रहेका सामुदायिक रेडियो बन्द रहेका छन् भने सरकारी तथा गैरसरकारी कार्यालयहरू पनि अत्यधिक चिसोका कारण प्रायः बन्द देखिएका छन् । थाहा खबरबाट