महारानीगञ्जको ६५ औं वार्षिक उत्सव प्रमुख प्रशासकीय राई सम्मानित « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

महारानीगञ्जको ६५ औं वार्षिक उत्सव प्रमुख प्रशासकीय राई सम्मानित


यलम्वर टाइम्स
११ माघ २०७९, बुधबार ११:५७

सालबारी । इतिहास रच्न सफल महारानीगञ्ज माध्यमिक विद्यालय सालबारीले ६५ औं वार्षिक उत्सव समारोहमा उच्च स्थानमा पुगेका पूर्व विद्यार्थी अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत गीता राई इङ्नामलाई सम्मान गरेका छन् । उनीसँगै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रोहितमान ढकाल पनि सम्मानित भएका छन् ।

विविध कार्यक्रमका साथ आयोजना गरिएको वार्षिक समारोहमा विद्यालयका प्रधानाध्यापक मनकुमार लिम्बूले विद्यालयको इतिहासको विषयमा अवगत गराउँदै विद्यालयलाई अगाडि बढाउन अभिभावकको अहम् भूमिका हुने बताए ।

प्रअ लिम्बूले मिश्रित जातिका सन्ततिहरु अध्ययन गरेको थलो महारानीगञ्ज भएको हुँदा राज्यको निर्देशन र सहयोग अनुसार विद्यालय अगाडि बढेको जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी सम्मानित प्रमुख प्रशासकीय अधिकृत राईले छात्राको लागि तयार पारिएको शौचालयको उद्घाटन गरेकी थिइन् ।

उद्घाटन गर्दै यस विद्यालयबाट अध्ययन गरि उच्च ओहोदामा पुगेका व्यक्तित्वहरुबाट स्नेहताको खाँचो भएको औल्याउँदै आउने बालबालिकाको लागि व्यवहारिक ज्ञानसहितको शिक्षा आवश्यक भएको बताइन् ।

कार्यक्रममा विशेष अतिथि वडा नं. ११ का वडाध्यक्ष खगेन्द्र इङ्नामले महारानीगञ्ज यस वडाको विद्याको केन्द्र विन्दू भएको बताउँदै नगरपालिकाबाट हुने सहयोग उपलब्ध गराउन आफू पछि नहट्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष ढकाल, पूर्व प्रअ हस्त परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा रोहित भट्टराईले छात्रवृद्धि प्रदान गरेका थिए भने विद्यार्थीद्वारा विभिन्न खेलकुद तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पूर्व वडाध्यक्ष भैरव खड्का, एमाले नगर सचिव लभकुश गौतम, गंगा रिजाल, बच्चेलाल चौधरी, प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी लगायतको आतिथ्य रहेको थियो ।

भेषराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत विद्यालयका शिक्षक सूर्यप्रसाद सापकोटाले गरेका थिए ।