घरेलु मदिरालाई मुद्दाको रुपमा लाने नेपाली कांग्रेसका संसदीय दलका नेता थापाको भनाई « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

घरेलु मदिरालाई मुद्दाको रुपमा लाने नेपाली कांग्रेसका संसदीय दलका नेता थापाको भनाई


यलम्वर टाइम्स
१६ माघ २०७९, सोमबार ११:४०

बिराटनगर । प्रदेश नं. १ प्रतिपक्षी दलका नेता तथा माननीय उद्धव थापाले कोदोको रक्सीलाई ब्राण्डिङ गरेर दीगो आयस्रोतको रुपमा लान आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् ।

परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति प्रदेश नं. १ ले आज उनकै कार्यालय बिराटनगरमा स्मरणपत्र बुझाएपछि माननीय थापाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रवद्र्धन समितिका बुद्धिजीवि देशु वनेमले परम्परागत मदिरा निर्माण गरि ब्राण्डिङ गर्न सके करोडौं रुपैयाँ मदिराका नाममा बाहिर नजाने बताउँदै मदिरा ऐन २०३१ र मदिरा सम्बन्धि नियम २०३३ ले परम्परागत घरेलु मदिरा उत्पादनमा अघोषित प्रतिबन्ध लगाएपछि अग्र्यानिक मदिरा प्रतिबन्ध हुँदा बिदेशी मदिराले स्थान पाएको स्मरण गराए ।

विदेशी मदिरा स्वदेशमा भित्रिएपछि नेपालमा कोदो उत्पादनमा ह्रास आएको र कोदो पनि विदेशबाटै किन्नु पर्ने बाध्यता भएको हुँदा अरबौं रुपैयाँ बाहिर गएपछि मुलुक आर्थिक रुपमा असर परेको देखिएकोले घरेलु मदिरालाई प्राथमिकता दिँदै स्वदेशमै कोदो उत्पादनमा ध्यान दिन आग्रह गरेका थिए ।

स्मरणपत्र बुझेपछि नेपाली कांग्रेस संसदीय दलका समेत प्रमुख भएका कारण सभापति थापाले सदनको पहिलो बैठकमै घरेलु मदिरालाई ब्राण्डिङ गरी आयस्रोतको रुपमा उठाउने प्रतिवद्धता जनाए ।

सभापति थापाले आयस्रोतका विषयमा प्रदेश नं. १ प्रशस्त आयस्रोतको खानी भएको ठाउँ हो । यसलाई सदुपयोग गर्न सके संघ तथा विदेशी दातृ निकायसँग हात फैलाउने आधारहरु हुने थिएन । त्यसतर्फ आफू केन्द्रीत भएको बताउँदै परम्रागत मदिरालाई पहिलो बैठकमै मुद्दाको रुपमा उठाउने दोहोर्याए ।

कार्यक्रममा स्मरणपत्र बुझाएपछि प्रवद्र्धन समितिका अध्यक्ष टेकबहादुर खजुमले विगत २ वर्षदेखि प्रवद्र्धन समितिले १ नं. प्रदेशका ९ वटा जिल्लामा समिति गठन गरिसकेको जानकारी गराउँदै प्रदेश सरकारले मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशन समिति गठन भएको जानकारी गराएका थिए ।

उक्त समितिमा प्रवद्र्धन समितिकोतर्फबाट टेक खजुम र सरु सिङ्गक सदस्य रहेको उद्योग मन्त्री सदस्य र उद्योग मन्त्रालयका मुख्य सचिव उच्चस्तरीय निर्देशन समितिको सचिव रहेको समेत जानकारी गराउँदै हाल उक्त समितिलाई चलायमान गराउन पनि सभापति थापालाई आग्रह गरेका थिए ।

प्रवद्र्धन समितिका सदस्य सरु सिङ्गकले सञ्चालन गरेको कार्यक्रममा प्रवद्र्धन समिति झापाका अध्यक्ष सर्मिला आङ्दाम्बे, सदस्य पदम प्रसाई, कोपिला लवती र अग्नीमाया मेचे लगायतले परम्परागत मदिराका विषयमा आ–आफ्ना राय राखेका थिए ।