अर्जुनधारामा कृषकका लागि ५३ लाख ५६ हजार बढीको परियोजना सुरु « Yalambar Times
१ बैशाख २०८१, शनिबार

अर्जुनधारामा कृषकका लागि ५३ लाख ५६ हजार बढीको परियोजना सुरु


यलम्वर टाइम्स
१९ माघ २०७९, बिहीबार ०९:३५

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले पालिकासँग गरेको सम्झौतामा परियोजना हाबी भएर काम गरेको प्रशस्त उदाहरण भएको हुँदा त्यसो नगर्न नेपाल एग्रीकल्चर मार्केट डेभलोपमेन्ट प्रोग्राम (स्वीस सरकार) सँग आग्रह गरेकी छिन् ।

आज विहीबार अर्जुनधारा नगरपालिका र स्वीस सरकारका नेपाल एग्रीकल्चर मार्केट डेभलोपमेन्ट बीच भएको सम्झौतामा उक्त कुरा बताएकी हुन् ।

कार्यवाहक नगर प्रमुख समेत सम्हालेकी पराजुलीले मिलेर गरेको सन्देश प्रभावकारी भएको हुँदा परियोजना र नगरपालिका एकअर्कामा पूरक भएर सफल बनाउन जोड दिइन् ।

परियोजनाको तर्फबाट प्रमुख विष्णुप्रसाद काफ्लेले जनताले लाभांश प्राप्त गर्ने गरि आएको परियोजना नगरपालिकासँग मसिनो ढंगबाट सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । परियोजना अर्जुनधारा–८ स्थित नयाँ बजारमा लागू हुनेछ ।

बजार व्यवस्थापनसँगै लक्षित वर्गलाई कृषि उद्यममा लैजानका लागि काम गरिने समेत परियोजनाका प्रमुख काफ्लेले जानकारी दिए ।

स्वीस सरकारबाट ३७ लाख ५६ हजार ७५० र अर्जुनधारा नगरपालिकाबाट १६ लाख गरि ५३ लाख ५६ हजार ७५० मा परियोजना सुरु गर्न लागिएको अर्जुनधारा कृषि शाखा प्रमुख एन्जिला विडारीले बताइन् । परियोजना सन् २०२४ जुनसम्म रहनेछ ।

माघ १२ गते बोर्ड बैठक मार्फत सहकार्यमा काम गर्ने भनि निर्णय भएपछि आज नगरपालिकाको उपप्रमुखको कक्षमा सम्झौता भएको हो ।

उक्त बजारमा कृषिलाई व्यवस्थित गर्न आयआर्जनको बाटो निर्माण गर्न र लघु उद्यमीलाई प्रोत्साहित गर्न लागिएको प्रमुख प्रशासकीय गीताकुमारी राई इङ्नामले बताइन् ।

सम्झौता कार्यान्वयन गर्न भएको छलफलमा नगरको आर्थिक विकास संयोजक गौरीमाया चिमरिया, लेखा अधिकृत विपिन लम्साल, इञ्जीनियर निरज अधिकारी, कार्यपालिका सदस्य विमला रोक्का लगायतको उपस्थिति रहेको थियो ।