सुलभ र सहज ढंगबाट सेवा प्रदान गर्न स्वास्थ्य मन्त्री लिम्बूको निर्देशन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सुलभ र सहज ढंगबाट सेवा प्रदान गर्न स्वास्थ्य मन्त्री लिम्बूको निर्देशन


यलम्वर टाइम्स
१९ माघ २०७९, बिहीबार १२:०२

भद्रपुर । प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले नागरिकको सेवाको लागि सरकारले लगानी गरे पनि त्यसको सहि सदुपयोग नहुँदा सर्वसाधारण सेवाबाट बञ्चित हुनुपरेको बताएकी छिन् ।

मन्त्री लिम्बूले नागरिकका स्वास्थ्यका लागि राज्यले करोडौं रुपैयाँ लगानी गरे पनि सरकारी अस्पतालहरुबाट सर्वसाधारणले उपचार सेवा लिनबाट बन्चित हुनुपरेको जनगुनासो आएको भन्दै सुलभ र सहज ढंगबाट सेवा प्रदान गर्न निर्देशन दिएकी थिइन् ।

बुधबार प्रादेशिक अस्पताल भद्रपुरको अनुगमन गर्न झापा आएकी मन्त्री तावाले अस्पतालका वार्डमा फोहोर र बेड च्यातिएको अवस्थमा देख्दा अच्चम मान्दै अस्पताल वा व्यवस्थापन समिति कसको कमजोरी हो भनि प्रश्न गरेकी थिइन् ।

अनुगमनपछि अस्पताल प्रशासन तथा व्यवस्थापन समितिसँगको छलफलमा मन्त्री तावाले स्वास्थ्य उपचार पाउने अधिकार प्रत्येक नागरिकको भएको बताउँदै सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गर्न नहुने बताइन् ।

मन्त्री तावाले सबैले आफ्नो कर्तव्य इमान्दरीताका साथ पूरा गरे सरकारी अस्पतालप्रति जनविश्वास बढेर जाने बताउँदै त्यसप्रति सचेत रहन आग्रह गरिन् ।

उनले मेची अञ्चल अस्पताललाई २ सय बेडको सुविधा सम्पन्न प्रादेशिक अस्पताल निर्माणमा प्रदेश सरकार जुटेको बताउँदै त्यसका लागि बजेट छुट्याउने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

छलफलमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. अनुज भट्टचनले यो अस्पताल रणनीतिक अस्पताल भएको हुँदा प्रदेशबाट बजेट विनियोजन हुनेमा ढुक्क रहन आश्वासन दिए ।

त्यस्तै अस्पतालका मेडिकल सुपरीटेन्ड डा. टंक बारकोटी र व्यवस्थापन समितिका अध्यक्ष विश्व बरालले मागपत्र प्रस्तुत गर्दै प्रादेशिक अस्पतालमा स्तर वृद्धि गरे पनि सो अनुसारको बजेट, स्रोतसाधन र जनशक्ति उपलब्ध नभएको गुनासो राखेका थिए ।

अध्यक्ष बरालले अस्पतालको बारेमा र भोग्नुपरेको समस्याका विषयमा जानकारी गराउँदै मन्त्रीको निर्देशन अनुरुप सुधार गर्नुपर्ने विषयमा तत्काल सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयका अस्पताल सञ्चालन तथा व्यवस्थापन महाशाखाका सागर प्रसाई लगायतको उपस्थिति रहेको थियो ।