गोठगाउँमा मेडिकल कलेज बन्ने « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

गोठगाउँमा मेडिकल कलेज बन्ने


यलम्वर टाइम्स
२५ माघ २०७९, बुधबार ०९:०१

गोठगाउँ । लामो समयको पहलपछि अन्ततः मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि बाटो खुलेको छ ।

मन्त्रीपरिषद् बैठकले मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न दिने निर्णय गरेपछि गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न बाटो खुलेको हो ।

गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि प्रतिनिधिसभा सदस्यद्वय डा.शेखर कोइराला, डा.सुनिल शर्मा र प्रदेश मन्त्री जीवन आचार्यले निरन्तर पहल गरिरहेका छन् ।

मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्माले चुनावी एजेण्डाकै रुपमा यसलाई अघि सारेका थिए । सेवा विस्तार गर्दै मेडिकल कलेज सञ्चालन गर्ने डा.शर्माको योजना अनरुप गत माघ ४ गते अस्पतालको सेवा विस्तार उद्घाटन गरेर दैनिक ८ घण्टा अस्पताल सेवा सञ्चालन भइरहेको छ ।

त्यसअघि गत मंसिर २८ गते डा.शर्माको पहलमा काठमाडौंमा बसेको सर्वपक्षीय बैठकमा मेडिकल कलेज सञ्चालनका लागि सबै सरोकारवालाहरु एकमत भएका थिए । सांसदहरुसहित विश्वविद्यालय, मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग लगायतका पदाधिकारी सहभागि बैठकले कलेज सञ्चालनका लागि निर्णयार्थ मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

मन्त्री परिषद्को स्वीकृतिपछि विश्वविद्यालयले कलेज सञ्चालनका लागि फ्याकल्टी नियुक्तिसहित पूर्वाधार निर्माणको योजना अघि बढाउने तयारी थालेको छ । तत्कालका लागि कोशी अस्पताललाई प्रयोगात्मक अभ्यासमा लिइने तथा क्रमिक रुपमा पूर्वाधारहरु निर्माण गर्ने लक्ष्य लिइएको छ ।

मेडिकल कलेज सञ्चालनका लागि तीन सय वेडको अस्पताल चाहिने चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेकाले तत्कालका लागि कोशी अस्पतालसँग सहकार्य गरिएको हो । मन्त्रीपरिषद्को स्वीकृतिसँगै अब आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन हुने भएपछि सो क्षेत्रबासी हर्षित भएका छन् ।