व्यवसायीको आत्मबल उच्च बनाउन बिर्तामोड अन्तर्राष्ट्रिय महोत्सव « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

व्यवसायीको आत्मबल उच्च बनाउन बिर्तामोड अन्तर्राष्ट्रिय महोत्सव


यलम्वर टाइम्स
२ फाल्गुन २०७९, मंगलवार ०५:३१

बिर्तामोड । आगामी फागुन ५ देखि १५ गतेसम्म आयोजना हुने एनसेल बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ ले व्यवसायीको आत्मबललाई उच्च राख्ने आयोजक समितिका संयोजक राजु न्यौपानेले बताएका छन् ।

उनले देशमा देखिएको आर्थिक संकटसँगै व्यवसाय चलायमान नहुँदा पलायन हुनुपरेको अवस्थामा व्यवसायीहरुको गिरेको आत्मबल उच्च बनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।

महोत्सव बारे जानकारी दिँदै संयोजक न्यौपानेले आन्तरिक व्यापार व्यवसायलाई चलायमान गराउन, नेपालमा उत्पादित कृषि वस्तुत तथा हस्तकलाका सामग्रीहरुको प्रदर्शन, प्रवद्र्धन गर्न, पर्यटन प्रवद्र्धनसँगै स्वदेशी बस्तुहरुको पहिचान गराउने र व्यवसायिक सम्भावना क्षेत्रहरुलाई पहिचान गर्न महोत्सव सञ्चालन गर्न लागिएको बताए ।

उनका अनुसार भारत लगायत तेस्रो मुलुकसँगको निर्यात ब्यापारलाई बढावा दिन, आन्तरिक व्यापारलाई चलायमान गराउन, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको महोत्सव स्थलमा विद्यार्थी, वृद्धवृद्धा र असक्तलाई भने निःशुल्क गरिएको छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतीय उद्योगी ब्यवसायीहरुको समेत सहभागिता रहने महोत्सवका संयोजक न्यौपानेले जानकारी दिए । महोत्सवबाट हुने आम्दानीले संघ सञ्चालनमा सहयोग पुग्ने उनको भनाई छ ।

१६ हजार १ सय ५० वर्ग मिटर क्षेत्रफलमा आयोजना हुने महोत्सवमा २ सय ५० स्टलहरु रहने जनाइएको छ । अहिलेसम्म करिब १ सय ५० स्टल बुकिङ भइसकेको संयोजक न्यौपानेले जानकारी दिए ।

प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरि महोत्सव स्थललाई चार भागमा विभाजन गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । मूल प्रवेशद्वारमा मुक्तिचोकको आकृती राखिने, सेल्फी जोन निर्माण गरिनेछ ।

त्यस्तै महोत्सवमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामाग्री, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, जुत्ताचप्पल, हस्तकला तथा तयारी पोषाक आदि महोत्सवमा राखिने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

बिर्तामोड उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश १ सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवलाई सफल बनाउन मुख्य प्रायोजनको रुपमा एनसेल आक्जियटा लिमिटेड रहेको छ भने सेन्चुरी मसला, गोर्खा ब्रुअरी, सिग्नेचर लगायत अन्य प्रायोजक रहेको जानकारी बताइएको छ ।

बिर्तामोड स्थित रामचोक र चारपाने बीचमा हुने महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने छन् ।

महोत्सवका संयोजक राजु न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, उद्योग वाणिज्य संघ बिर्तामोडका पूर्व अध्यक्ष राजेन्द्र थापा, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, संघका पूर्व अध्यक्ष राजेन्द्र थापा, संघका महासचिब तथा महोत्सवका अनुगमन समिति संयोजक अर्जुन मैनाली, प्रायोजक संस्थाका प्रतिनिधिहरुलगायत संघका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संघका सचिव कुशल खतिवडाले गरेका थिए ।