‘आम मतदाताको विश्वासमाथि तुसारापात गर्दिन’ « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

‘आम मतदाताको विश्वासमाथि तुसारापात गर्दिन’


यलम्वर टाइम्स
६ फाल्गुन २०७९, शनिबार १२:२४

अर्जुनधारा । सभामुख देवराज घिमिरेले झापा क्षेत्र नं. २ का आम मतदाताको विश्वासमाथि तुसारापात हुन नदिने बताएका छन् ।

शुक्रबार अर्जुनधारा नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित सभामुख तथा उपसभामुखलाई सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा सहभागि सभामुख घिमिरेले क्षेत्र नं. २ का आम जनताको अपार माया र विश्वासले विजयी हुँदै सभामुख जस्तो गरिमामय पदमा अवसर प्राप्त भएको छ, यो विश्वासलाई तुसारापात नगर्ने बताएका हुन् ।

उनले देश राजनीतिक रुपमा अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् । सम्मान कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेतृत्वमा इमान्दारिता, लगनशिलताको खडेरी औल्याए ।

नेतृत्वमा इमान्दारिता, लगनशिलता नहुँदा राजनीतिज्ञ र राजनीतिक पार्टीप्रति नागरिकहरुमा वितृष्णा र निराशा बढेको छ, बिना इमान्दारिता, बिना लगनशिलता र बिना त्याग देशको परिवर्तन सम्भव नहुने हुँदा त्यसलाई सच्याउन राजनीतिक दल र नेतृत्वहरु सच्चिन आवश्यक छ, उनले भने ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले आफू जहिले पनि सबैको साझा भएर हिडेको बताउँदै जातिको, पार्टीको ट्याग लगाएर नहिडेको बताए । उनले नेपालको संविधानले उपलब्ध गराएका नेपाली नागरिकका हक अधिकारलाई निडर, निष्पक्ष भएर कार्यान्वयनमा लाग्ने बताइन् ।

अर्जुधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनको सभापतित्वमा भएको कार्यक्रममा पूर्व प्रदेश सांसद बृख प्रधानले सम्मानित सभामुख घिमिरे र उपसभामुख मगरको जीवन चर्चा गरेका थिए ।

अर्जुधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले संयुक्त रुपमा सम्मान गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य अमृतलाल राजवंशी, भक्तबहादुर खपाङ्गी, हर्कमाया विक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन योजना प्रमुख हिमराज सेढाईंले गरेका थिए ।

सभामुख घिमिरे र उपसभामुख मगर दुवै झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् भने उनीहरु दुवै अर्जुनधाराका स्थायी बासिन्दा हुन् ।