बिर्तामोड महोत्सवः एक रुपैयाँमा मेजमान « Yalambar Times
८ बैशाख २०८१, शनिबार

बिर्तामोड महोत्सवः एक रुपैयाँमा मेजमान


यलम्वर टाइम्स
६ फाल्गुन २०७९, शनिबार १२:४१

बिर्तामोड । चोक तथा बजारमा रहेका चिया पसलमा चिया पिउदा तपाईले कति रुपैयाँ तिनु हुन्छ ? न्यूनतम १० रुपैयाँदेखि अधिकतम ३० वा सो भन्दा माथि चियाको मूल्य हामीले तिर्दै आएका छौं । तर, एक रुपैयाँमा एक कप चिया पाइन्छ भन्दा आश्चर्य मान्नु पर्दैन ।

झापाको बिर्तामोड नगरपालिका–२ स्थित प्रभु राम चौकमा फागुन ५ गतेबाट शरु भएको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ मा एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवमा आउने दर्शकलाई मेलाको छुट्टै रौनकता प्रदान गरिएको छ ।

महोत्सवमा आउने अवलोकन कर्तालाई एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवलाई थप आकर्षक बनाउने प्रयत्न गरिएको हो ।

‘रंग छिटो खाँदा मिठो’ भन्ने नारा सहित अर्जुनधारा–६ मा रहेको सीता चिया तथा घरेलु मसला उद्योगले एक रुपैयाँ मै मेजमान नामक चिया बितरण गरिरहेको छ ।

नेपालको चिया विश्व सामु चिनाउने उद्देश्यले व्यवसायीद्वय चक्र कार्की र नरेश सापकोटाले चिया उपलब्ध गराउन सुरु गरेका हुन् ।

सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र विना मिसावटको शुद्ध चिया उपलब्ध गराउन थालेसँगै महोत्सवमा आएका अवलोकनकर्ताले चियाको गुणस्तको समेत तारिफ गर्न शुरु गरेका छन् ।

मिसावट रहित विना फ्लेवरको चिया एक रुपैयाँमा नै उपलब्ध गराउन थालेपछि भारत, बंगलादेश र पाकिस्तानबाट मेलामा सहभागीताका लागि आएकाहरुले समेत नेपालको चियाको चुस्की लिँदै रमाईरहेका छन् ।

देशको अर्थतन्त्र नै सुस्ताएको र व्यवसायी समेत समस्यामा परिरहेका बेला यहाँको आर्थिक अबस्थालाई चलायमान बनाउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा सस्तो दरमा सामाग्री उपलब्ध गराएर अवलोकन कर्ताहरुको मन जित्ने प्रयत्न गरिएको छ ।

११ दिनसम्म सञ्चालन हुने महोत्सवमा तीन लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

विभिन्न औपचारिक कार्यक्रमका साथै साङ्गितिक प्रस्तुतिका साथ शुरु भएको महोत्सवको अवलोकन गर्न विभिन्न जिल्लाबाट अवलोकन कर्ताको आगमन शुरु भएको छ भने भारत लगायतका तेस्रो देशबाट समेत अवलोकन कर्ताहरु आउनु शुरु गरेको महोत्सव मूल आयोजक समितिका संगयोजक राजु न्यौपानेले बताए ।