अग्रज पत्रकार राई नेपाली सेनाद्वारा सम्मानित « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अग्रज पत्रकार राई नेपाली सेनाद्वारा सम्मानित


यलम्वर टाइम्स
८ फाल्गुन २०७९, सोमबार ०५:१८

काठमाण्डौ । विगत तीन दशकअघिदेखि झापाबाट निरन्तर कलम चलाइरहेका अग्रज पत्रकार दिपीन राईलाई नेपाली सेनाको २६० औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको छ ।

निष्पक्ष पत्रकारिता गर्दै राष्ट्रिय एकतामा सद्भाव कायम राख्न उल्लेखीय योगदान पुर्याएको भन्दै उनलाई नेपाली सेनाले सम्मान गरेको हो ।

काठमाण्डौको टुडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्धी पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा प्रधान सेनापति प्रभुराम शर्माले उनलाई तक्मा र सम्मानपत्रले विभूषित गरेका थिए ।

२०४९ सालदेखि विवेचना दैनिकबाट राई नेपाली पत्रकारितामा सक्रिय छन् । नेपाली जनताको हक अधिकार, वाक स्वतन्त्रता र लोकतन्त्रसँगै प्रेस स्वतन्त्रताका लागि निरन्तर कलम चलाइरहेका राई द्वन्दकालिन समयमा सेनाकै बंकरसम्म पुगेका थिए ।

मुलुकका विशिष्ट व्यक्तिहरुको अगाडि नेपाली सेनाले सम्मान र प्रशंसा सहितको तक्मा प्रदान गर्दा आफ्ना लागि अत्यन्तै ठूलो सम्मान भएको राई बताउँछन् ।

पत्रकार राईले राष्ट्रकै अनुशासित सुरक्षा विभागले कार्य मुल्यांकन गरि सम्मान प्रदान गरेकोमा नेपाली सेनाप्रति अभार व्यक्त गरेका छन् । पत्रकार राई यलम्वर टाइम्सका सम्पादक हुन् ।

पत्रकार राईसँगै इलामका ईतिहासकार युद्धबहादुर वौद्य, ईन्द्रेणी लोक दोहोरीका कृष्ण कँडेल, अभिनेता निखिल उप्रेती, नगर प्रमुख तथा उपप्रमुखहरु, भारत, बेलायत र चीनका सेना प्रमुख, नेपाली सेनाका पूर्व प्रमुख, प्रजिअ, सशस्त्र र प्रहरी प्रमुख लगायतलाई सम्मान गरिएको थियो ।

सेनाको २६० औं दिवस साथै शिवरात्रीको अवसर पारेर टुडीखेलमा भएको सेनाको प्रदर्शन नेपाली मन जोड्ने कला कौशल प्रशंसनी र लोभलाग्दो थियो ।