अर्जुनधारा खेल मैदानलाई व्यवस्थित बनाऔं « Yalambar Times
११ श्रावण २०८१, शुक्रबार

अर्जुनधारा खेल मैदानलाई व्यवस्थित बनाऔं


यलम्वर टाइम्स
९ फाल्गुन २०७९, मंगलवार १०:०१

भर्खरै मात्र अर्जुनधारामा १८ वर्ष मुनिका खेलाडीहरुलाई सहभागि गराई वडास्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । त्यस लगत्तै निजी तथा आवसीय विद्यालय (प्याव्सन)का खेलकुदका कार्यक्रम र अर्जुनधारा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भयो । अर्जुनधारा स्तरीय यी सबै प्रतियोगिता अर्जुनधारा वडा नं. ७ स्थित अर्जुनधारा खेल मैदानमा सम्पन्न भए । बजार नजिक, विरिङ खोलाको काखमा अवस्थित अर्जुनधारा खेल मैदान फराकिलोसँगै शान्त वातावरणमा रहेको हुँदा भविष्यमा यस मैदानले ठूलो महत्व राख्ने देखिन्छ ।

अर्जुनधारा नगरपालिका खेलाडीहरुको उर्भर भूमिको रुपमा परिचित छ । फुटबल, कराते, तेक्वान्दो लगायत विभिन्न खेलमा अर्जुनधारा नगरपालिका अब्बल छ । फुटबलका विशाल राई, करातेकी एस्तर राई अर्जुनधाराका गहना हुन् । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अर्जुनधाराको नाम उच्च राख्न सफल भएका छन् । नगरको खेल क्षेत्रको विकासका लागि अर्जुनधारा खेल मैदानलाई विशेष ध्यान दिन आवश्यक छ । बढ्दो शहरीकरणसँगै ठाउँहरु साघुरिदै जाँदा अर्जुनधारा खेल मैदान फुटबल खेल्नेहरुका लागि पर्याप्त स्थान बन्दै गएको छ । तसर्थ यसलाई साझा बनाई व्यवस्थित रंगशालाको रुप दिन आवश्यक देखिन्छ । यसको वृद्धि विकासका लागि बजेट पनि निकासा हुने गरेको छ । यसअघि खेल मैदानका लागि अर्जुनधारा नगरपालिकाले पनि बजेट विनियोजन गरेको थियो । तर, यसको उचित विकासका लागि पर्याप्त भने छैन ।

खेल मैदानको विकासका लागि अर्जुनधारा नगरपालिकाले गुरु योजना बनाइ व्यवस्थित रंगशाला निर्माणमा जुट्न सके अझ राम्रो हुने थियो । नगरपालिकाको प्रत्यक्ष निगरानीमा खेल मैदानमा प्याराफिट निर्माण, मैदानको अर्को भागतर्फ ब्याडमिटन, भलिवल वा तेक्वान्दो, कराते जस्ता खेलका लागि कवड हल निर्माण गर्न सके अर्जुनधारा खेल मैदान नगरकै गहनाको रुपमा रहने थियो । तसर्थ खेल क्षेत्रको गौरब बढाउन उक्त खेल मैदानलाई विकसीत गर्दै लानु वडा सरकार, नगर सरकारले ध्यान दिन आवश्यक हुन्छ । यस क्षेत्रबाट बिजयी प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुले पनि चासो देखाउन आवश्यक छ । त्यस्तै हाम्रा जनप्रतिनिधिहरुसँगै खेल प्रेमी, दातृ निकाय, आम अर्जुनधारा नगरवासीले पनि यसको विकासमा तन, मन, धन आफ्नो क्षमता अनुसार सहयोग गर्न जरुरी छ ।