अर्जुनधारामा फाल्गुन ११ बाट हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने « Yalambar Times
८ बैशाख २०८१, शनिबार

अर्जुनधारामा फाल्गुन ११ बाट हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने


यलम्वर टाइम्स
१० फाल्गुन २०७९, बुधबार ११:२०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा यही फाल्गुन ११ गतेदेखि २१ गतेसम्म हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने भएको छ ।

अर्जुनधारा नगर स्वास्थ्य कार्यालयले यस वर्ष अर्जुनधारामा ६८ हजार जनालाई औषधी खुवाउने लक्ष्य लिएको बताउँदै फाल्गुन ११ गतेबाट औषधी वितरण गर्न लागिएको जानकारी दिएको हो ।

अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार औषधी वितरणका लागि नगरका ११ वटै वडामा ३५ स्वास्थ्यकर्मी र ३५ स्वास्थ्य स्वयम्सेवीका परिचालन गरिनेछ ।

यसअघि हात्तीपाइले रोग विरुद्धको दुइ औषधी खुवाउँदै आए पनि यसपटक भने थप एक औषधी खुवाइने शाखाका प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

‘पहिलाका वर्षमा दिइने औषधी दुइ वटा थिए, त्यसको प्रभावकारीता पनि कम नै थियो । त्यसैले कम्तिमा ५ वर्ष निरन्तर खानुपर्ने हुन्थ्यो’ उनले भने, ‘यस पटकदेखि थप एउटा औषधी खानुपर्ने हुन्छ र त्यसको प्रभावकारीता ९५ प्रतिशत बढी हुने हुँदा दुई वर्षमात्र सेवन गर्नुपर्छ ।’

शाखाका अनुसार सधा उमेरको आधारमा औषधी सेवन गराउँदै आए पनि यस पटकबाट उचाईका आधारमा औषधी खुवाइनेछ ।

गत वर्ष अर्जुनधारामा २ देखि ५ वर्ष उमेर समूहका ३ हजार ६५०, ६ देखि १४ वर्ष उमेर समूहका १२ हजार १५३ र १५ वर्षमाथिका ४३ हजार ४२९ गरी जम्मा ५९ हजार २३२ जनालाई खुवाइएको शाखाको तथ्याङ्कमा उल्लेख छ ।

क–कसले सेवन गर्न मिल्दैन

हात्तीपाइले रोग विरुद्धको औषधी दुई मुनिका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी महिलाले सेवन गर्न नमिल्ने शाखाले जनाएको छ ।

त्यस्तै कुनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगीहरुले पनि यो औषधी सेवन गर्न मिल्दैन ।

शाखाका अनुसार छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले पनि यो औषधि सेवन गर्नु हुँदैन ।