नगरसभाले किसानलाई सम्बोधन गरोस् « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

नगरसभाले किसानलाई सम्बोधन गरोस्


यलम्वर टाइम्स
१४ फाल्गुन २०७९, आईतवार ०३:४८

अर्जुनधारा नगरपालिकामा १२ औं नियमित नगर सभा चलिरहँदा नगरबासीका लागि सुखद सन्देश बनेर आउने विश्वास लिएका छन् । करिब ६८ हजार जनसंख्या रहेको यस नगरमा ७५ प्रतिशत जनता गाउँमा केन्द्रित रही जीवनयापन गरिरहेको अवस्था छ । ५० प्रतिशत जनता खोलाका किनारमा बसोबास गर्छन् । नदीले नछोएको वडा सायद कमै होला । यस नगरमा कृषि व्यवसायी र कृषिमा केन्द्रीत हुनेहरुको संख्या पनि त्यतिकै छ । भन्ने हो भने अर्जुनधारा नगरपालिका मिहेनती र इमान्दारी कृषकहरु बसोबास गरेको नगर हो भन्दा अतियुक्ति नहोला ।

यस नगरपालिकाभित्र खोला खोल्सी र नदी, तलाउमा पुल बनिसकेको अवस्था छ । छिटपुट केही निर्माण कार्य रहेतापनि महत्वपूर्ण क्षेत्रमा पुल र बाटोहरु निर्माण भइसकेको देखिन्छ । अझै बाटोहरु बन्ने काम पनि बाँकी नै छन् । तर नहर पैनी र पानी सञ्चित गर्ने ठाउँ नबन्दा नगरबासी कृषकहरु हैरान भएको पाइन्छ । खोला खोल्सीहरुबाट पानीको मुहान बनाउने र खेतमा सिञ्चित गर्ने, बर्खामा भेलबाढी आउँदा पानी निकास हुने ठाउँ पत्ता लगाई काम अगाडि बढाउने जस्ता विषयमा नगर सभाले सम्बोधन गरेको खण्डमा नगरभित्रका कृषकहरुका लागि फलदायी हुने देखिन्छ ।

यो सभाले खर्च गर्ने र आयस्रोत निर्माण गर्ने विधि दुवै पारित गर्न सक्ने भएको हुँदा हिजो जनतामाझ मत माग्दै गर्दा चुनावमा बोलिएका शब्दलाई सार्थकता हुने बजेट बनेर चलाउने विधि बनाएर आउनेमा नगरबासी आशा राखेर बसेका छन् । नगरलाई चलाउने र उत्कृष्ट नगर बनाउने नीति, पर्यटन, कला, संस्कृति, साहित्य, खेलकुद र सञ्चार साथै यहाँका जातजातिको उत्थान र संरक्षण पनि हो । त्यसतर्फ पनि १२ औं नगरसभामा बृहत रुपमा छलफल हुन जरुरी छ । छलफलसँगै सकारात्मक सन्देश लिएर नगरसभा सम्पन्न हुनेछ भन्ने आशा राख्दै १२ औं नगरसभा पूर्ण रुपमा सम्पन्नताका लागि शुभकामना व्यक्त गर्दछौं ।