हात्तीपाइले न्यूनिकरण नहुनुको दोषी को ? « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

हात्तीपाइले न्यूनिकरण नहुनुको दोषी को ?


यलम्वर टाइम्स
१६ फाल्गुन २०७९, मंगलवार ०७:४१

अर्जुनधारा । गम्भीर रोग नभए पनि विस्तारै ज्यान लिने रोगको नाम हो हात्तीपाइले । यो रोगलाई निर्मूल पार्नका लागि राज्य पक्षबाट भरपूर प्रयास भए पनि झापामा विकराल लिँदै गरेको अवस्था छ ।

यसलाई न्यूनिकरण गर्न नसक्नुको पछाडी के रहस्य छ त ? के सम्बन्धि पक्षमा औषधी नपुगेकै हो त ? कि स्वास्थ्यकर्मीहरुले सेवा दिने काममा कञ्जुस्याँई गरेका हुन् ? कि खटि आउने स्वास्थ्यकर्मीको कडा अनुगमन नभएर झापामा यस्तो रिपोर्ट आएको हो ? यति बेला यो प्रश्न जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गत हात्तीपाइले निवारण हेर्न शाखालाई तेर्सिएको छ ।

प्राविधिक रुपमा स्वास्थ्यकर्मीहरुले हात्तीपाइले रोग विरुद्ध औषधी खुवाउने भनेर जिल्ला र पालिकास्तरमा सञ्चार सम्मेलन गरि तयारी रहेको सन्देश दिएका छन् । फाल्गुन ११ गतेबाट स्वास्थ्यकर्मीहरु औषधी वितरणमा खटेको पनि पाइन्छ ।

त्यसपछि औषधी वितरणमा हिड्ने रुट पनि देखाइएको हुन्छ । रै पनि हात्तीपाइले रोग निर्मूल हुनुको सट्टा बढ्दै गएको तथ्याङ्क देखिन्छ । जनस्वास्थ्यको तथ्याङ्क हेर्ने हो भने विगतको विवरणभन्दा अझ बढेको संकेत छ । सचेत र चनाखो झापामा यस्तो अवस्था छ भने अरु जिल्लाको हालत कस्तो होला ?

झापामा हात्तीपाइले रोग निर्मूल गर्न अब जनस्वास्थ्यका कर्मचारीसँगै वडाका प्रतिनिधिहरुलाई सहयोगीका रुपमा लगि औषधी खुवाउन र खाएका जनताको नाम उल्लेख गरेर तथ्याङ्क संकलन गर्न जरुरी पनि छ ।

त्यतिमात्र होइन, राजनीतिक दलका एक÷एक जना प्रतिनिधि र टोल विकास समितिका प्रतिनिधिहरु पनि खट्न जरुरी देखिन्छ । गाउँबस्तीमा हात्तीपाइले जीवाणु कसरी उत्पादन हुन्छ, कस्तो ठाउँबाट फैलिन्छ
भन्ने कुराको सन्देश दिन पनि जरुरी छ ।

यो एक प्रकारको सरुवा रोग हो । यो रोग लागेका जो कोही मान्छेलाई मसिनो धागो आकारका जुका जस्तै परजीविका कारणले सर्ने गर्छ ।

सरकारले झापालाई जोखिम जिल्लाको रुपमा लिएको हुँदा स्वास्थ्यकर्मीहरुले कोराना भ्याक्सिनको तथ्याङ्क राखे जस्तै औषधी खुवाइएको तथ्याङ्क कार्ड सहित जनप्रतिनिधिमार्फत जानकारी गराइएमा हात्तीपाइले रोग निर्मूलताको बाटोमा जाने थियो । त्यसो गरिएन भने हात्तीपाइले रोग औषधी खुवाउने पर्वको रुपमा आउने छ ।

रोग आफैमा खर्चालु पाटो हो । हात्तीपाइले रोग लाग्नु र सर्नु आफ्नो कमिकमजोरी र जनचेतना सन्देशको अभावमा पनि हुने गर्छ । लापरवाही तरिकाले केही हुन्न भनेर हिंडेमा, स्वास्थ्यकर्मीले दिएको औषधी खान बिर्सिएमा र औषधी खायो खाएन भनेर अनुगमनकर्ताले ध्यान दिएन भने हात्तीपाइले रोगले झापामा विकराल रुप लिन सक्छ ।

यसलाई निर्मूल पार्न र हटाउन समाजका संघसंस्था र सामाजिक व्यक्तिहरुको पनि उत्तिकै हात हुन जान्छ । राज्य पक्षबाट सामाजिक व्यक्तित्वहरुप्रति सहयोगको भूमिका लिन आह्वान गर्नुपर्ने देखिन्छ । तबमात्र निर्मूलताको बाटोमा जाने निश्चित छ ।