साना ६ राजनीतिक दल संगठित हुँदै « Yalambar Times
३० चैत्र २०८०, शुक्रबार

साना ६ राजनीतिक दल संगठित हुँदै


यलम्वर टाइम्स
२७ फाल्गुन २०७९, शनिबार ०२:२५

बिर्तामोड । लामो समयपछि पहिचानवादी दलहरु एक ठाउँमा उभिने भएका छन् ।

साना दल भएर विभिन्न कालखण्डमा आन्दोलनसँगै निर्वाचनमा भाग लिँदै आउँदा परिणाम राम्रो नआएपछि एकताभन्दा अर्को विकल्प नरहेको भन्दै पहिलो पटक पूर्वमा पहिचान पक्षधर साना ६ राजनीतिक दल एकतामा उभिएका हुन् ।

पटक–पटकको छलफलसँगै शुक्रबार बिर्तामोडमा भएको भेलाले शनिबार (आज) एकताको घोषणा गर्ने छलफलमा सहभागि लिम्बूवानका नेता एलबी पालुङ्वाले जानकारी दिए । पालुङ्वा संघीय लिम्बूवान पार्टीका नेता हुन् ।

प्रजातन्त्र स्थापनासँगै अधिकार प्राप्तिका लागि लड्दै आएको ३२ वर्ष पार गर्दा पनि मुलुकले आदिवासी जनजाति र अल्पसंख्यक मधेस र दलितका लागि ठोस कार्ययोजना सहितको अधिकार दिन सकेन ।

विभाजन भएर अधिकारका लागि भिड्दा पनि भने जस्तो परिणाम आउन सकेन । त्यसैले एकताभन्दा अर्को विकल्प नभएको कोचिला नेता त्रिनारायण राजवंशीले प्रतिक्रिया दिए ।

संस्थापक राजनीतिक दल राष्ट्रिय जनमुक्ति पार्टी भए पनि उक्त पार्टीले फड्को मार्न सकेन । त्यही राजनीतिक दलबाट अन्य दलमा समाहित भएका अगुवा नेताहरु पनि एकताको पक्षमा देखिएको छलफलमा सहभागि एक नेताले जानकारी दिए ।

मुलुकमा अधिकार दिलाउने राजनीतिक संगठन नभएको भन्दै पहिचान पक्षधरहरु संगठित भइ एक भएर अगाडि बढेमा अल्पसंख्यक जातिहरुलाई अधिकार दिलाउन सकिने कुरा जनमुक्तिका महासचिव पदम जवेगुले प्रतिक्रिया दिए ।

छलफल कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष खड्गप्रसाद पालुङ्वाले यो अभियानलाई मेची–महाकालीसम्म जोडिने बताउँदै पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले रुकमणि चौधरीको नेतृत्वमा रहेको थारुहट पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, तामासालिङ र रिजन अन्सारीको नेतृत्वमा रहेको नेपाल संघीय समाजवादी पार्टीसँग पनि चाँडै एकता हुने जानकारी दिए ।

शनिबार संघीय लिम्बूवान पार्टी सञ्जुहाङ पालुङ्वा, संघीय खम्बूवान लोकतान्त्रिक पार्टी ज्ञानेश्वर राई, कोचिला फ्रन्ट त्रिनारायण राजवंशी, लोसपा लिम्बूवान पार्टी भक्त खेवाङ, किरात लिम्बूवान निर्माण अभियान प्रेमदीप थाम्सुहाङ र राष्ट्रिय जनमुक्ति पार्टी बीच एकताको घोषणा हुने सम्बन्धित पक्षले जानकारी दिएको छ ।

एकतामा यसरी जुट्न लागेको दलहरुप्रति बाहिरी शक्ति सकस भएको हुँदा केहीले हामी बीचमै धमिलोपन गर्दै गरेको पनि एक सहभागि नेताले बताए ।