अध्यक्ष प्रचण्डले चालेको रणनीतिबाटै परिवर्तन सम्भवः नेता पोखरेल « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

अध्यक्ष प्रचण्डले चालेको रणनीतिबाटै परिवर्तन सम्भवः नेता पोखरेल


यलम्वर टाइम्स
७ चैत्र २०७९, मंगलवार ०८:०६

शान्तिनगर । माओवादी नेता गिरिराजमणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालेको रणनीतिबाटै जनताले चाहेको परिवर्तन सम्भव भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संगठन सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्तर्गत बुद्धशान्ति–४ मा भएको भेलामा स्कुल विभागका प्रमुख पोखरेलले बहुमतबाट झरेर तेस्रो स्थानमा रहँदा पनि पार्टी नेता प्रचण्डले पहिलो फड्को मारेको हुँदा अब गाउँगाउँबाट परिवर्तनकारीहरुलाई एक ठाउँमा उभ्याएर पार्टीले जनतामाझ राखेका शब्दहरुलाई पूर्ति गर्न एक जुट हुनुपर्ने दिन आएको बताएका छन् ।

माओवादी केन्द्रलाई लगाउने आरोप मिथ्या भए पनि परिवर्तनका बाधकमा नेकपा एमाले जस्ता संगठन देखा परेको हुँदा त्यस्ता दल आफ्नै कार्यकर्ताबाट आलोचित हुने बताउँदै जनताको भावना अनुसार काम गर्ने वातावरणमा अन्य दलहरु सधै अवरोध देखिएको बताए ।

यो बेला आलोचनासँगै समिक्षा गर्ने दिन आएको हुँदा गाउँ, बस्तीमा पुगेर जनतासँग भावना सुधार गर्नका लागि कार्यकर्ताहरु जुट्नुपर्ने बताए ।

संगठन सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान झापाका संयोजक ज्योतिसिंह दर्लामीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीले १० वटा उद्देश्य सहित १०५ वटा कार्यहरु अगाडि सार्ने नीति ल्याएको झापाका अध्यक्ष राजु आचार्य ‘अग्नी’ले बताए ।

उनका अनुसार गणतन्त्रको संस्थागत विकास र सुदृढिकरण, किसानको ३० हजारसम्मको ऋण मिनाह, शिक्षा र स्वास्थ्यमा गुणात्मक विकास, पूर्व राजाको सम्पत्ति राष्ट्रियकरण र संरक्षण जस्ता कार्यहरु अगाडि सारिएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिकुमार रानाले वर्गीय मुक्तिका बाधक कम्युनिष्टभित्रका नश्लीयत रोगकै कारण भनेको जस्तो प्रगति हुन नसकेको बताउँदै संगठनलाई गाउँबस्तीबाट उठाउनु पर्ने दिन आएको बताए ।

पूर्वमन्त्री तथा केन्द्रीय सदस्य झलकसिंह दर्लामीले देखिएका थुप्रै मुद्दाहरु समाधानको बाटोमा पार्टी अगाडि बढेको बताउँदै पार्टीलाई संस्थागत विकास गर्न कार्यकर्ताहरुको ठूलो भूमिका हुने भएको हुँदा यस्ता खाले प्रशिक्षण र भेलामा जुट्नुपर्ने बताए ।

बुद्धशान्ति–४ स्थित टिमाई शिविरमा आयोजित कार्यक्रममा मेचीनगर, बुद्धशान्तिका तीन सयभन्दा बढी सक्रिय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने ग्रामिण भेगमा पार्टीले भोग्दै आएका पीडाका विषयमा कार्यकर्ताहरुले आफ्नो धारणा राखेका थिए ।