संघर्ष समितिसँग सरकारले वार्ता गर्नुपर्ने नेपाली कांग्रेसको धारणा « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

संघर्ष समितिसँग सरकारले वार्ता गर्नुपर्ने नेपाली कांग्रेसको धारणा


यलम्वर टाइम्स
९ चैत्र २०७९, बिहीबार ०७:४७

अर्जुनधारा । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश नामको विषयलाई लिएर आन्दोलनरत जातीय संघसंस्था तथा राजनीतिक दलसँग सरकारले छलफलसँगै वार्ता गर्नुपर्ने बताएका छन् ।

विहीबार सभापति थापाले यलम्वर टाइम्ससँगको संक्षिप्त सम्वादमा लोकतन्त्रमा बहस, छलफल पर्यावाची भएको हुँदा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिसँग प्रदेश सरकारले समयमै छलफल गरि निचोडको बिन्दूमा जान पछि हट्न नहुने बताए ।

लोकतन्त्रमा छलफल र बहससँगै चित्त नबुझ्दा शान्तिपूर्ण आन्दोलन गर्न पाइन्छ । संघर्ष समितिले गरेको शान्तिपूर्ण आन्दोलनलाई दमन र छेकबार गर्न नहुने सभापति थापाले बताए । उनले दुवै पक्ष वार्तामा बस्दै निकासको बाटोमा जानुपर्ने सुझाव दिए ।

‘प्रदेशको नामको विषयमा यसअघि पटक–पटक बहस हुँदै ५ वर्षे कार्यकाल त्यसै खेर गयो । सबै प्रदेशले नाम राखिसके । प्रदेश १ को नाम राख्न नसक्दा चारैतिरको दबाबका बाबजुत कोशी नाम रहन गएको हो । त्यसमा विमती भए छलफलमा लैजाऔं’, थापाले भने ।

शान्तिपूर्ण आन्दोलन गर्नु संघसंस्थालाई छुट छ, चित्त नबुझ्दा सभा समारोह गर्न छुट नै हुन्छ, तर हिंसात्मक गतिविधि गर्नु, मानिसलाई दुःख दिनु यो नियम विपरित भएको हुँदा त्यसतर्फ नलाग्न संघर्ष समितिलाई थापाले आग्रह गरे ।