पहिचान खोज्दा पदमको मृत्यु « Yalambar Times
१२ श्रावण २०८१, शनिबार

पहिचान खोज्दा पदमको मृत्यु


यलम्वर टाइम्स
१० चैत्र २०७९, शुक्रबार ०५:५२

धरान । संघर्ष समितिले चैत्र ५ गते बिराटनगरमा आयोजना गरेको कोशी प्रदेश नाम विरुद्धको जनप्रदर्शनमा प्रहरीको पिटाइबाट घाइते पदम लिम्बू (लाजेहाङ)को उपचारको क्रममा मृत्यु भएको छ ।

थप उपचारको लागि हेलिकप्टरमा काठमाण्डौ मेडिसिटी अस्पताल लाने तयारी भइरहेको बेला शुक्रबार (आज) बिहान २:३० बजे बीपी कोइराला मेमोरियल अस्पताल धरान घोपामा मृत्यु भएको हो ।

लाजेहाङको मृत्युपछि प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गर्दै सो बारे जानकारी गराएको छ ।

लिम्बूको उपचारको क्रममा मृत्यु भएपछि शुक्रबार बिहान प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति विज्ञप्ति प्रकाशन गर्दै हत्याको जिम्मा प्रदेशको मुख्यमन्त्री हिक्मत कार्की र ८२ प्रदेश सभा सदस्य हुने उल्लेख छ ।

‘लिम्बूको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनु पर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ‘लाजेहाङ लिम्बूको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई शहीद घोषणा गर्न जोडदार माग गर्दछौँ ।’

लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियर्सको केन्द्रीय सहकमाण्डर हुन् । मञ्च संयुक्त संघर्ष समितिको घटक संगठन हो ।

कोशी प्रदेश नाम विरुद्ध चैत्र ५ गते प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा जनप्रदर्शन भएको थियो ।

प्रदर्शनको क्रममा रोडशेस चोकमा आन्दोलनकारी र प्रहरीवीच झडप भएको थियो । प्रदर्शनकारीले सरकारले लगाएको ३ सय मिटरको निषेधित क्षेत्र तोडेर मुख्यमन्त्रीको गेट नजिक पुगेका थिए ।

सोही क्रममा प्रहरीको लाठी टाउकोमा लागेका पदमबहादुर लिम्बू (लाजेहाङ)को बाहिर समान्य निलडाम रहेको थियो । बुधबार (८ चैत्र) अपरान्ह वान्ता गर्दै बेहोस भएपछि अस्पताल भर्ना भएको थियो ।

लाजेहाङको मृत्युपछि राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले दमनबाट सशक्त क्रान्ति उत्पादन हुने भएको हुँदा अब आन्दोलनको उचाई बढेर गएको बताउँदै महान शहीद लाजेहाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सरकारले शहीद घोषणा गरि क्षतिपूर्ति प्रदान गर्नुपर्ने बताएका छन् ।

चुम्लुङका महासचिव निरन्ती तुम्वापोका अनुसार प्रहरीको पिटाइबाट पदम लिम्बू (लाजेहाङ)को हत्या भएको विरुद्धमा १४ जिल्लामा साँझ ५ बजेदेखि ६ बजेसम्म विभिन्न सभा, भोली ११ गते १ बजेदेखि २ बजेसम्म चक्का जाम जस्ता कार्यक्रमहरु ल्याइएको बताएका छन् ।

तेह्रथुम जिरीखिम्ती स्थायी घर भएका लाजेहाङ हाल सुनसरीको धरानमा बसोबास गर्दै आएका थिए । उनी लिम्बूवानी आन्दोलनका सशक्त योद्धा हुन् ।

माओवादीका प्रदेश नेता विजय साम्पाङले आफ्नो फेसबुक वालमा पहिचानको पक्षमा जीवन उत्सर्ग गर्ने योद्धा पदम लिम्बू (लाजेहाङ) प्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारलाई पहिचानको आन्दोलन तपाईको बिर्ता खोस्न लडिएको होइन भन्दै विद्रोहका सम्मान, उत्पन्न परिस्थितिको समाधान तिम्रो हातमा छ भन्दै सरकारलाई घचघच्याएका छन् ।